सातै प्रदेशले आज नयाँ बजेट ल्याउँदै

Jantedhunga

काठमाडौं । देशका सातै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्दैछन्। संवैधानिक व्यवस्था अनुसार असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रदेशसभामा प्रस्तुत गर्नुपर्ने प्रावधान रहेको छ।

यसअनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेश सरकारले आज आफ्नो बजेट सार्वजनिक गर्ने तयारी गरेका छन्। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरूले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रदेश सरकारहरूले आगामी वर्ष शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी सिर्जना तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट तयार पारेका छन्। साथै स्थानीय उत्पादनको प्रवर्द्धन, कृषि क्षेत्रको आधुनिकीकरण, युवा लक्षित रोजगार कार्यक्रम तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने योजनाहरू पनि बजेटमा समावेश गरिने अपेक्षा गरिएको छ।

संघीय सरकारले गत जेठ १५ गते नै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेको अवस्थामा प्रदेशहरूले आफ्ना आवश्यकता, स्रोत र प्राथमिकताअनुसार बजेटको आकार तथा कार्यक्रम तय गरेका हुन्।

आज सार्वजनिक हुने प्रदेश बजेटले आगामी वर्ष प्रदेशस्तरीय विकास योजना, सामाजिक क्षेत्रका कार्यक्रम र आर्थिक गतिविधिको दिशा तय गर्ने भएकाले सर्वसाधारणदेखि सरोकारवालासम्मको चासो बढेको छ।

Jantedhunga
प्रतिक्रिया