संखुवासभा कारागारभित्र कैदी हत्या प्रकरण : १५ जनालाई जन्मकैद

Jantedhunga

खाँदबारी, असार २ गते ।

संखुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदीबन्दीको मृत्यु भएको घटनामा अदालतले सात जना सुरक्षाकर्मी र आठ जना कैदीबन्दीसहित १५ जनालाई जन्मकैदको सजाय सुनाएको छ।

जिल्ला अदालत संखुवासभाले मंगलबार फैसला सुनाउँदै दोषी ठहर भएका सबैलाई जन्मकैदको सजायका साथै मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो।

यो घटना २०८० साल साउन २४ गते कारागारभित्र भएको थियो। अनुसन्धानका क्रममा भाग्ने प्रयास गरेको आशंकामा नियन्त्रणमा लिइएका दुई कैदीबन्दीमाथि सुरक्षाकर्मी तथा अन्य कैदीबन्दीले कुटपिट गरेको र त्यसकै कारण उनीहरूको मृत्यु भएको पुष्टि भएको थियो।

घटनापछि कारागार प्रशासन र सुरक्षामा खटिएका कर्मचारीसहित संलग्न कैदीबन्दीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो। मुद्दाको सुनुवाइपछि अदालतले सबै अभियुक्तलाई हत्या कसुरमा दोषी ठहर गरेको हो।

फैसलाअनुसार तत्कालीन कारागार इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीसहित विभिन्न तहका प्रहरी र सुरक्षा गार्डहरूलाई जन्मकैदको सजाय सुनाइएको छ। त्यस्तै घटनामा संलग्न रहेको ठहर भएका आठ जना कैदीबन्दीलाई पनि समान सजाय तोकिएको अदालतले जनाएको छ।

कारागारभित्र रहेका व्यक्तिको सुरक्षाको जिम्मेवारी राज्य पक्षमाथि रहने भएकाले हिरासत तथा कारागारभित्र हुने हिंसात्मक घटनाप्रति शून्य सहनशीलताको सन्देश दिने गरी अदालतको यो फैसला आएको कानुनी क्षेत्रका जानकारहरूको भनाइ छ। कारागारभित्र भएको सामूहिक कुटपिटका कारण भएको मृत्युमा सुरक्षाकर्मी र कैदीबन्दी दुवैलाई समान रूपमा जिम्मेवार ठहर गरिएको यो फैसला महत्वपूर्ण नजिरका रूपमा समेत हेरिएको छ।

Jantedhunga
प्रतिक्रिया