देउवा समूहले पार्टी कार्यालय खोल्दै

Jantedhunga

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने निर्णय गरेको छ।

शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा बसेको इतर समूहका वरिष्ठ नेताहरूको बैठकले महाराजगन्जस्थित सम्पर्क कार्यालय आगामी सोमबार (असार २२ गते) औपचारिक रूपमा उद्घाटन गर्ने निर्णय गरेको हो।

बैठकपछि नेता डा. प्रकाशशरण महतले सम्पर्क कार्यालयका लागि भाडामा लिइएको भवनमा हाल रंगरोगन तथा आवश्यक व्यवस्थापनको काम भइरहेको जानकारी दिँदै उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको बताए।

बैठकमा पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, महालक्ष्मी उपाध्याय ‘डिना’, डा. शशांक कोइराला, रमेश लेखक, एनपी साउद, डा. प्रकाशशरण महत, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, वीरबहादुर बलायर, श्याम घिमिरे र मोहनबहादुर बस्नेतलगायत नेताहरूको उपस्थिति रहेको थियो।

देउवा समूहले स्थापना गर्न लागेको सम्पर्क कार्यालयलाई संगठनात्मक गतिविधि सञ्चालन, कार्यकर्ता समन्वय तथा राजनीतिक छलफलको केन्द्रका रूपमा अघि बढाउने तयारी गरिएको जनाइएको छ।

Jantedhunga
प्रतिक्रिया