एमाले लुम्बिनी प्रदेश अध्यक्ष मा दुइ जनाको उम्मेदवारी ।

Jantedhunga


नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्वको लागि दुईजनाको उम्मेदवारी परेको छ । शनिबारदेखि सुरु भएको अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि निर्वाचन हुने भएको हो । 

लुम्बिनी प्रदेशको यो अधिवेशनलाई एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलबीचको शक्तिसंघर्षका रूपमा लिइएको छ ।

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य समेत रहेका हरि रिजालले उम्मेदवारी दर्ता गरेका छन् । कँडेललाई उपाध्यक्ष पौडेलको समर्थन छ भने रिजाललाई महासचिव पोखरेलले समर्थन गरेका छन् ।

पौडेल र पोखरेल मात्र होइन, उनीहरुपछिका नेताहरु पनि दुई कित्तामा बाँडिएका छन् । उपमहासचिव प्रदीप ज्ञवालीसँगै केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल र शिवराज सुवेदी रिजालको पक्षमा लागेका छन् भने सचिव छविलाल विश्वकर्मा तथा गोकर्ण विष्ट, पोलिटब्युरो सदस्यहरू लीला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, वैजनाथ चौधरी लगायत कँडेलको पक्षमा खुलेका छन् ।



शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गरेका थिए । उनले सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरे पनि दोस्रो तहका नेताहरुबीच कुरा नमिल्दा आआफ्ना उम्मेदवार उठाएका हुन् ।

अध्यक्षलगायत उपाध्यक्ष, सचिव, उपसचिव सदस्य सबै पदमा आवश्यक संख्याभन्दा धेरैको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । 



प्रमुख निर्वाचन आयुक्त हरि भण्डारीले आइतबार राति ८ बजेदेखि निर्वाचन प्रक्रियाको काम स्थगित गरी सोमबार बिहान १० बजेसम्म मनोनयनको समय थप गरेका छन् । 
अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ ।

Jantedhunga
प्रतिक्रिया