पूर्वी पहाडी जिल्लामा आएको अविरल वर्षाका कारण थप ३ जनाको निधन

Jantedhunga

जन्तेढुंगा न्युज डेक्स

खोटाङ । चार दिनदेखिको निरन्तर वर्षापछि आएको बाढीपहिरोमा परी पूर्वी पहाडका ताप्लेजुङ र संखुवासभामा सोमबार थप तीन जनाको निधन भएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोले बगाउँदा बाबुछोराको निधन भएको छ । यस्तै, संखुवासभाको पाँचखपन–५ स्थित हेवा खोला किनारमा सोमबार एक शव भेटिएको छ । उक्त शवको सोमबार बेलुकासम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

मेहेलेमा सोमबार बिहान गएको पहिरोले केशरकुमार राई र उनका छोरा सुरेशसहित छिमेकी राजकुमार राईलाई पहिरोले बगाएको थियो । सुरेश र राजकुमारलाई छिमेकीले उद्धार गरे पनि सुरेशलाई बचाउन सकेनन् । बेपत्ता केशर पनि अढाई घण्टापछि झन्डै चार सय मिटर तल मृत अवस्थामा फेला परेका थिए । घाइते राजकुमारलाई सेनाको हेलिकोप्टरबाट विराटनगर लैजान खोजिएको थियो । तर खराब मौसमका कारण पाँचथरको पिनासीघाटमा रोकिएपछि गोपेटार प्राथमिक उपचार केन्द्रबाट चिकित्सक झिकाएर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गत शनिबारको बाढीपहिरोबाट संखुवासभा, ताप्लेजुङ र पाँचथरमा बेपत्ता भएकामध्ये २७ जना अझै फेला परेका छैनन् । वर्षा नरोकिँदा र सडक अवरुद्ध भएकाले बेपत्ताको खोजीमा समस्या भइरहेको सुरक्षा अधिकारीले बताएका छन् । संखुवासभामा बाढीले बगाएर शनिबार राति बेपत्ता सुपर हेवा हाइड्रोपावरका १८ जना मजदुरको खोजीमा २ सय ५० सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

जेठ ३२ मा सिरिजंगा–८ याम्फुदिनबाट सुरु भएको विपत्ले सिदिङ्वा–६ मेहेले, ७ सुरुमखिम, ३ आंखोपवासीसँगै सिरिजंगा–६ खेवाङ, ४ को पेदाङका स्थानीय बाढीपहिरोको त्रासमा छन् । शनिबार रातिदेखि नै बेपत्ता सिदिङ्वा–६ का ६३ वर्षीय भगीमाया, ३३ वर्षीया सन्ध्या र ९ वर्षका प्रज्वल बुढाक्षेत्री सोमबार साँझसम्म फेला परेका छैनन् । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार मैवाखोला, पाथीभरा र याङवरक गाउँपालिकामा पनि बाढीपहिरोले क्षति पुर्‍याएको छ ।

सिदिङ्वाको सबैभन्दा बढी प्रभावित क्षेत्र मेहेलेमा पुग्न कठिन भइरहेको गाउँपालिका अध्यक्ष मानबहादुर राईले बताए । ‘ठाउँठाउँमा पहिरो खसेका कारण विस्थापित परिवार धेरै रहेको अनुमान छ,’ उनले भने । मेहेलेका वडाध्यक्ष रत्न लिङ्देनले बाढीपहिरोका कारण वडाका पाँच सयमध्ये चार सय परिवार असुरक्षित रहेको बताए ।

सरकारले पठाएको हेलिकोप्टरले घाइतेको उद्धार गरे पनि पाल, खाद्यान्न, कम्बललगायत विस्थापितका लागि आवश्यक सामग्री नझारिदिएकामा उनको दुखेसो छ । ‘गाडीको बाटो बन्द छ, कमसेकम अलि–अलि चामल, कम्बल, पालसम्म झारिदिएको भए राहत हुने थियो,’ उनले भने । सुरुमखिमका वडाध्यक्ष लक्षुमन तामाङका अनुसार वडा ७ मा १७ घर विस्थापित छन् । सिरिजंगा–८ याम्फुदिनमा १२ परिवार विस्थापित छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले खाद्यान्नलगायतका राहत सामग्रीका लागि आइतबार स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको थियो । तर पैदलमार्गबाट जान सक्ने अवस्था नभएको सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई बताउँछन् । उनले भने, ‘पानी परेको पर्‍यै छ । मोटरबाटो, पैदलमार्ग सबै बिग्रियो, हामीसँग हेलिकोप्टर पनि छैन, कसरी राहत पुर्‍याउनु रु’

जिल्लामा तीन पक्की र पाँच झोलुङ्गे पुलमा क्षति पुगेको छ भने दुई हाइड्रोपावर, मेहेले स्वास्थ्य चौकीसहित सात सरकारी कार्यालय, एउटा विद्यालय र बाटो अवरुद्ध भएको उक्त समितिले जनाएको छ । ओडारमा बसिरहेका सिदिङ्वा–७ सुरुमखिमका २३ वर्षीय डेनिस गुरुङ, उनकी श्रीमती अनिता र अढाई वर्षीया छोरीको अझै उद्धार हुन सकेको छैन । डेनिसकी आमा चेतमायाका अनुसार उनीहरूसँग टेलिफोन सम्पर्क भने भइरहेको छ । तावाखोलाको पुल बगाएको र लगातार पानी परिरहेका कारण उनीहरू फर्कन सकेका छैनन् । घरदेखि आधा दिनको पैदलमा रहेको गाग्रे भन्ने ठाउँमा गएका उनीहरू बस्ने गोठ छेवैदेखि पहिरो खसेपछि ओडारमा आश्रय लिएको चेतमायाले बताइन् ।

शनिबारयता सिदिङ्वा–६ मेहेलेमा एकै वडाका तीनको ज्यान गएको छ भने तीन जना बेपत्ता छन् । सोही वडामा शनिबार राति ३० वर्षीय गणेश तामाङको पहिरोमा पुरिएर मृत्यु भएको थियो । पाँचथरमा शुक्रबारदेखि सुरु भएको वर्षा सोमबार अपराह्नसम्म पनि रोकिएको छैन । फिदिम नगरपालिकासँगै हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकामा सोमबार दिनभर मुसलधारे वर्षा भएको छ । वर्षाले ठाउँठाउँमा पहिरो खस्दा विस्थापित हुनेको संख्या बढिरहेको छ । चारवटै स्थानीय तहमा ३५ घर प्रभावित भएका छन् ।

पहिरोले मध्यपहाडी राजमार्गको पाँचथर–तेह्रथुम सडक खण्ड सोमबार मध्याह्नदेखि अवरुद्ध भएको छ । यसअघि आइतबार बिहान हेवा खोलाको पुल बगाउँदा पाँचथरको फालेलुङ, हिलिहाङ र याङवरक गाउँपालिकासँगै ताप्लेजुङको सडक सम्पर्क विच्छेद भएको थियो । पाँचथरको याङवरक गाउँपालिका–१ फेदी गाउँ नजिकैको खोलामा बाढी आउनुका साथै बस्तीमाथिबाट पहिरो खस्ने जोखिम भएपछि फसेका १२ जनालाई सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान उद्धार गरेर विष्णु मावि च्याङथापु पुर्‍याएको पाँचथरका प्रजिअ मेखबहादुर मग्रातीले जानकारी दिए । उनीहरूलाई स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा तत्कालका लागि गाँसबासको प्रबन्ध मिलाएको उनले बताए ।

शनिबार रातिको बाढीपहिरोमा परेर हिलिहाङ–७ की एलिसा माझी, फिदिम–१० का सन्जोग लोवा र फालेलुङ–३ की जुना सावदेनको ज्यान जानुका साथै हिलिहाङ–७ का आशिष माझी र दिलकुमार तामाङ तथा फिदिम–४ का राजकुमार राई बेपत्ता छन् । एलिसाको शव धनकुटाको छथर जोरपाटी–४ तेलियास्थित तमोर नदी किनारमा आइतबार फेला परेको थियो । बाढीले विभिन्न खोला र नदीका १५ पुल बग्नुका साथै ५० भन्दा धेरै चौपाया मरेका छन् । खोला गड्तीरमा लगाएको मकै र धान बालीमा क्षति पुगेको छ । निरन्तर पानी परिरहेकाले क्षति बढ्न सक्ने पाँचथर प्रहरी प्रमुख डीएसपी हरि खतिवडाले बताए । बाढी र पहिरोले ग्रामीण सडक अवरुद्ध भएका छन् ।

यस्तै, संखुवासभाको सभापोखरीमा २ र नुनढाकीमा १ जना शनिबारदेखि नै बेपत्ता छन्, त्यहाँ अझैसम्म सुरक्षाकर्मी पुग्न सकेका छैनन् ।

राहत र उद्धार युद्धस्तरमा गरिने : प्रधानमन्त्री

बाढीपहिरो प्रभावित क्षेत्रमा सोमबार पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले युद्धस्तरमा राहत र उद्धारको काम गर्ने बताए । उनले प्रभावित तीन जिल्लामा उद्धार र राहतको काममा कुनै कसर बाँकी नराख्ने पनि बताए । दाहालले विस्थापितलाई पुनःस्थापना गर्ने, घरबारविहीनको तत्काल स्थानान्तरण र आवासको व्यवस्था मिलाइने र बाढीले बगाएका पक्की पुलमा बेलिब्रिज बनाएर आवागमन सहज बनाउने बताएका छन् । तीनवटै जिल्लामा भएको क्षतिको विवरण हेरेर सरकारले नयाँ कार्यक्रम ल्याउने पनि दाहालले बताए ।


Jantedhunga
प्रतिक्रिया