जन्तेढुंगा संवाददाता
पोखरा। पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार देशको विकराल समस्या भएकोले यस विरुद्ध कडा रुपमा अघि बढ्ने बताएका छन् ।
पोखरामा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरूद्ध अनुसन्धान थप तीव्र बनाउने बताएका छन् । उनले अब अनुसन्धान नरोकिने बरु अझ कडा रुपमा अघि बढ्ने जनाए ।
उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ। थप तीव्रताका साथ अघि बढ्छ।’
उनले अगाडि थपे, ‘प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ। प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको छ। यो प्रक्रिया अगाडि बढिरहेको छ, निरन्तर अगाडि जान्छ।’
बजेट पास होला कि नहोला भन्ने आशंका अब मेटिएको भन्दै उनले यसपटक भिन्न ढंगले नै काम सुरू गरेको दाबी पनि गरे । ‘यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ। जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस छ। विदेशमा रहेका लाखौँ नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ।’
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र लयमा फर्किएको दाबी पनि गरे, ‘अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो। तर, बिस्तारै लयमा फर्किएको छ।’
यसपटकको भारत भ्रमण ऐतिहासक भएको पनि उनले दोहोर्याए । ‘राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएका छन्। भारतीय प्रधानमन्त्रीले आफै सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो हो । यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन्, तर, यसपटक प्रधानमन्त्रीले भन्नुभयो।’ उनले सुनाए, ‘पारवाहन सन्धि पुनरावलोकन पनि महत्त्वपूर्ण निर्णय हो। विद्युत व्यापार सम्झौता पनि सामान्य कुरा होइन। १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य होइन। यसले विद्युत व्यापार पनि बढ्छ, लगानीको ढोका पनि खुल्छ।’
प्रधानमन्त्री प्रचण्डले छिट्टै चीन भ्रमणमा जाने पनि जनाए । त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस गर्ने उनले प्रतिवद्धता जनाए । गठबन्धनको सरकार पाँच वर्ष चल्ने भन्दै प्रचण्डले यो कसैले हल्लाउन नसक्ने दाबी पनि गरे ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो