काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री तथा पूर्वसांसद धवल शम्शेर राणाले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
शुक्रबार दिउँसो केही नेतासहित निर्वाचन आयोग पुगेका राणाले आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गरी दर्ताका लागि निवेदन दिएका हुन्।
राणाको नेतृत्वमा प्रस्तावित नयाँ पार्टीको नाम ‘जय नेपाल पार्टी’ राखिएको छ। पार्टीको चुनाव चिह्न ‘त्रिभुज’ तय गरिएको छ भने झण्डा सेतो पृष्ठभूमिमा त्रिभुज चिह्न अंकित हुने व्यवस्था गरिएको छ।
केन्द्रीय सदस्य तथा सचिवालय प्रमुख सगुनसुन्दर लावतीका अनुसार पार्टीको तत्कालका लागि ७९ सदस्यीय केन्द्रीय कमिटी रहनेछ। निर्वाचन आयोगबाट आवश्यक प्रक्रिया पूरा भएपछि केही दिनभित्रै दल दर्ताको प्रमाणपत्र प्राप्त हुने अपेक्षा गरिएको छ।
यसअघि राणासहित १८३ जना नेता तथा कार्यकर्ताले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका थिए।
राप्रपा छाडेपछि राणाले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ सञ्चालन गर्दै आएका दुर्गा प्रसाईंसँग सहकार्य गरी संयुक्त पार्टी गठन गर्ने सहमति गरेका थिए। तर, पार्टी नेतृत्वको विषयमा मतभेद उत्पन्न भएपछि प्रसाईं भने शुक्रबार निर्वाचन आयोगमा भएको दल दर्ता प्रक्रियामा सहभागी भएनन्।
यससँगै राणाको नेतृत्वमा ‘जय नेपाल पार्टी’ गठन गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो