काउलीमा अत्यधिक मात्रामा विषादी

Jantedhunga

सल्यान । सल्यानदेखि सुर्खेत ल्याइएको काउलीमा अत्यधिक मात्रामा विषादी पाइएको छ । अत्यधिक विषादी पाइएपछि ८७० किलो काउली नष्ट गरिएको छ । उपभोगका लागि अयोग्य रहेको भन्दै कृषि विभागको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत रहेको विषादी अन्वेषण द्रुत विश्लेषण प्रयोगशाला एकाइ सुर्खेतले सोमबार काउली नष्ट गरेको हो। प्रयोगशालाका नायब प्राविधिक धनसिंह धामीले सल्यानबाट ल्याइएको काउलीमा ९९.३४ प्रतिशत अर्गानोफस्फेट समूहको विषादी पाइएको बताउनुभयो । 

उहाँका अनुसार सामान्यतया तरकारीमा कार्बामेट वा अर्गानोफस्फेट समूहको विषादी ३५ प्रतिशतभन्दा कम भए मात्र खानयोग्य मानिन्छ । विषादीको ३५/४५ प्रतिशतबिचको मात्रामा केही दिन क्वारेन्टाइनमा राखेर परीक्षण गर्न सकिन्छ तर ४५ प्रतिशतभन्दा बढी भएमा त्यसलाई विसर्जन गर्नुपर्ने प्राविधिक मापदण्ड छ ।

कपुरकोट गाउँपालिका–६, छायानाथ लिउरेखोला क्षेत्रका किसानबाट उत्पादन गरिएको काउली व्यापारी प्रबल शाहीमार्फत सुर्खेतका व्यापारी रतन महतरालाई पठाइएको थियो । उक्त काउली वीरेन्द्रगरस्थित तरकारी मन्डीमा बेच्न राखिएको थियो । परीक्षणमा अत्यधिक मात्रा विषादी देखिएपछि सोमबार नै नगरपालिकाका जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ । सोही दिन परीक्षण गरिएको फर्सी, लौका, केराउ, बन्दा, पालुङ्गो, धनियाँ, केरा र तितेकरेलालगायतका तरकारी तथा फलफूल भने उपभोग गर्नयोग्य भेटिएको प्रयोगशालाले जनाएको छ ।

यसैबिच कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले जिल्लामा विषादी परीक्षण प्रयोगशाला नहुनु ठुलो समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले किसानलाई विषादी प्रयोग नगर्न आग्रह गर्दै आएका छौँ तर प्रयोगशाला नहुँदा तरकारी खानयोग्य छ कि छैन भनेर सुनिश्चित गर्न सकिएको छैन । प्रदेश सरकारले स्थानीय तहमा प्रयोगशाला सञ्चालनमा ल्याइदिएको भए परीक्षण गरेर मात्रै तरकारी पठाउन सकिन्थ्यो ।”

Jantedhunga
प्रतिक्रिया