कांग्रेस विवाद मिलाउने प्रयास : देउवा नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय

Jantedhunga

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनपछि बनेको नयाँ समितिमा समेटिन नसकेका सबैलाई केन्द्रीय सदस्यको हैसियत दिने निर्णय गरेको छ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै पुरानो समितिका नेताहरूलाई समेत समेट्ने निर्णय गरेको हो। यसअघि सभापति गगनकुमार थापाले विभिन्न समूहका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गर्दै पार्टीभित्र समावेशी सन्तुलन कायम गर्ने प्रयास गरेका थिए। 

बैठकले गत पुससम्म नवीकरण गरिएका क्रियाशील सदस्यतालाई मान्यता दिने निर्णयसमेत गरेको छ। यससँगै डिजिटल रूपमा अद्यावधिक नभएका भए पनि १५औँ महाधिवेशनका लागि नवीकरण गरिएका क्रियाशील सदस्यले महाधिवेशन प्रक्रियामा सहभागी हुन पाउने बाटो खुलेको छ। 

कांग्रेसले १५औँ महाधिवेशनका लागि अधिवेशन प्रक्रिया अघि बढाइसकेको छ। संशोधित कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते गाउँ–नगरपालिका अधिवेशन र असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी छ। केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका यथावत् छ। 

यसैबीच कांग्रेसभित्र पूर्वसभापति देउवा पक्ष र वर्तमान सभापति थापा पक्षबीच महाधिवेशनको वैधानिकता तथा कार्यतालिकालाई लिएर विवादसमेत जारी छ। देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित समितिलाई नै वैधानिक मान्दै छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ। 

नयाँ निर्णयले कांग्रेसभित्रको आन्तरिक विवादलाई सहमतिमार्फत समाधान गर्ने प्रयासका रूपमा हेरिएको छ। यद्यपि देउवा पक्षले अघि सारेको समानान्तर महाधिवेशनको तयारी र वर्तमान नेतृत्वले तय गरेको महाधिवेशन कार्यतालिकाबीचको विवाद पूर्ण रूपमा समाधान भइसकेको छैन।


Jantedhunga
प्रतिक्रिया