ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

Jantedhunga

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पुलमा ट्रकको ठक्करबाट मोरङका एक स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको लेटाङ नगरपालिका–१ का अन्दाजी ३५ वर्षीय योगेन्द्र मगर रहेका छन् ।

प्रहरीका अनुसार हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना.६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको बा.प्र.०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई गएराति करिब ११ बजे पछाडिबाट ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका मगरलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो । उपचारकै क्रममा राति ११ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि प्रहरीले ट्रक चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ का ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिएको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Jantedhunga
प्रतिक्रिया