मुग्लिङ–काठमाडौं सडक अवरुद्ध भएपछि त्रिभुवन राजपथमा आलोपालो प्रणाली

Jantedhunga

काठमाडौ  । मुग्लिङ–काठमाडौं सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा रहेको त्रिभुवन राजपथमा सवारी चाप व्यवस्थापन गर्न मकवानपुर प्रशासनले आलोपालो प्रणाली लागू गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले असोज २४ र २५ गतेका लागि हेटौँडा–काठमाडौं र काठमाडौं–हेटौँडा चल्ने सवारीसाधनको छुट्टाछुट्टै समयतालिका निर्धारण गरेको हो ।

प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार हेटौँडाबाट काठमाडौं जाने सवारीसाधनले असोज २४ गते बिहान २ देखि ५ बजेसम्म र दिउँसो ३ देखि साँझ ६ बजेसम्म सञ्चालन अनुमति पाउनेछन् । असोज २५ गते बिहान ४ देखि १० बजेसम्म यस दिशामा सवारी सञ्चालन गर्न पाइनेछ ।

त्यस्तै, काठमाडौंँबाट हेटौँडा आउने सवारीसाधनका लागि असोज २४ गते बिहान ९ देखि दिउँसो १२ बजेसम्म र राति १० बजेदेखि असोज २५ गते बिहान १ बजेसम्मको समय तोकिएको छ । असोज २५ गते दिउँसो २ देखि साँझ ७ बजेसम्म पनि काठमाडौंँबाट हेटौँडातर्फ सवारी सञ्चालन गर्न पाइनेछ ।

प्रशासनले त्रिभुवन राजपथमा ११ मिटरसम्म लम्बाइ भएका यात्रुवाहक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिएको छ । १० चक्काभन्दा बढी भएका तथा १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई भने उक्त सडकखण्डमा सञ्चालन गर्न रोक लगाइएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले मुग्लिङ–काठमाडौं सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गमा सवारी चाप बढ्न सक्ने भएकाले आवागमन व्यवस्थित गर्न समयतालिका निर्धारण गरिएको बताए ।

उनका अनुसार कान्ति लोकपथमा दिउँसो दोहोरो सवारी सञ्चालन भइरहेको छ । सिस्नेरी हुँदै काठमाडौं जाने मार्गमा भने साना सवारीसाधनका लागि आलोपालो समयतालिका लागू गरिएको छैन ।

जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकलाई निर्धारित समयतालिका र सवारी सञ्चालनसम्बन्धी नियम पालना गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

Jantedhunga
प्रतिक्रिया