काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनका लागि छुट्टै संगठनात्मक प्रक्रिया अघि बढाएको छ। यसक्रममा देउवा पक्षले आजदेखि वडा अधिवेशन सुरु गर्दैछ।
देउवा पक्षले पार्टीभित्रको विवाद समाधान नभएको भन्दै संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी नभई आफ्नै कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अगाडि बढाएको हो। सो समूहले असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन र असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने तालिका सार्वजनिक गरेको छ।
देउवा पक्षका अनुसार प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने र केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म आयोजना गर्ने तयारी छ। उक्त कार्यतालिकाबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइएको छ।
महाधिवेशन तयारीका लागि देउवा पक्षले ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन प्रतिनिधि खटाएको जनाएको छ। वडा अधिवेशन सञ्चालनका लागि विभिन्न जिल्लामा निर्वाचन संयोजकसमेत परिचालन गरिएको समूहको भनाइ छ। पछिल्लो विवरणअनुसार ५६ जिल्लामा निर्वाचन संयोजक तोकिएको जनाइएको छ।
देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै आधिकारिक मान्दै आएको छ। पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा नयाँ महाधिवेशन अघि बढाउन नहुने आफ्नो अडान रहे पनि संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अगाडि बढाएपछि छुट्टै अधिवेशन गर्नुपरेको उक्त समूहका नेताहरूले बताउँदै आएका छन्।
देउवा पक्षबाट गठित १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले वडा तहबाटै संगठनलाई व्यवस्थित र सक्रिय बनाउनुपर्नेमा जोड दिएका छन्। उनले पार्टीका नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई वडा अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेका छन्।
यसअघि संस्थापन पक्षले पनि आफ्नो निर्धारित कार्यतालिकाअनुसार १५औँ महाधिवेशन प्रक्रिया अघि बढाइसकेको छ। नेपाली कांग्रेसको आधिकारिक वेबसाइटमा प्रकाशित कार्यतालिकाअनुसार संस्थापन पक्षको केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यक्रम थियो।
यसरी कांग्रेसभित्र दुई फरक कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढेपछि पार्टीको सांगठनिक र वैधानिक अवस्थाबारे विवाद थप जटिल बनेको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो