काठमाडौ बाहेक पाँच महानगरले ल्याए बजेट

Jantedhunga

काठमाडौँ, असार ११ गते  । स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आआफ्नो सभामा बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि छ वटा महानगरपालिकामध्ये पाँच वटाले मात्र सभामा बजेट पेस गरेका छन् । ललितपुर महानगरपालिका र विराटनगर महानगरपालिकाले मङ्गलबार, वीरगन्जले सोमबार र भरतपुर तथा पोखरा महानगरपालिकाले त्यसअघि नै आआफ्नो सभामा बजेट पेस गरिसकेका छन् । 

काठमाडौँ   महानगरपालिकाले  भने  नगरप्रमुख र  प्रमुख     प्रशासकीय अधिकृतको आन्तरिक विवादले गर्दा सभामा बजेट पेस गर्न सकेन ।  अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले असार १० भित्रै आआफ्नो सभामा बजेट पेस गरी असार मसान्तभित्र सभाले बजेट पास गर्नुपर्ने कानुनी व्यवस्था छ । काठमाडौँ महानगरपालिका सहप्रवक्ता धुव्रकुमार काफ्लेले काठमाडौँ महानगरपालिकाले प्राविधिक समस्याले बजेट आउन नसकेको भन्दै असार मसान्तभित्र भने सभामा बजेट पेस  गरिसक्ने बताउनुभयो । उहाँले कानुनले तोकिए अनुसार महानगरपालिकाले सभामा बजेट पेस गर्न नसके पनि पारित गर्ने मिति असार मसान्त नकट्ने गरी बजेट निर्माणको आन्तरिक तयारी भएको स्पष्ट पार्नुभयो ।  

ललितपुरको सात अर्ब सतचालिस करोड

ललितपुर महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सात अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपियाँको बजेट ल्याएको छ । महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य वज्राचार्यले मङ्गलबार नगर सभामा उक्त बजेट पेस गर्नुभएको हो । 

बजेटमा चालु खर्चतर्फ दुई अर्ब ९६ करोड ६४ लाख १८ हजार रुपियाँ र पुँजीगत खर्चतर्फ चार अर्ब ५० करोड ७७ लाख २९ हजार रुपियाँ विनियोजन गरिएको छ । महानगरपालिकाको चालु आवको बजेट सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार २३ हजार रुपियाँको छ ।   

बजेटको खर्चको स्रोत व्यवस्थापन गर्नका लागि सङ्घीय सरकारबाट एक अर्ब ४१ करोड, २७ लाख ९४ हजार र बागमती प्रदेश सरकारबाट १८ करोड २७ लाख ७२ हजार प्राप्त हुने अनुमान गरिएको छ । आन्तरिक आय तीन अर्ब ७१ करोड, ४६ लाख ९१ हजार रुपियाँ सङ्कलन हुने अनुमान छ । अन्तरसरकारी अख्तियारबाट ९५ करोड १५ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएकामा विनियोजित बजेटमा नपुग हुने एक अर्ब १२ करोड ७३ लाख ९० हजार रुपियाँ नगद मौज्दातबाट बेहोर्ने महानगरपालिकाले सार्वजनिक गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ । 

महानगरपालिकाले संस्थागत सुदृढीकरण तथा सुशासन, दिगो पूर्वाधार तथा सहकारी विकास, कला, संस्कृति संरक्षण तथा संवर्धन, पर्यटन क्षेत्रको प्रवर्धन, विपत् जोखिम न्यूनीकरण, बालमैत्री व्यवहार व्यवस्थापन, रोजगार प्रवर्धन तथा गरिबी न्यूनीकरणलगायतका क्षेत्रलाई बजेटको प्राथमिकतामा राखेको छ । 

गत शुक्रबार महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सभामा आगामी आवको नीति तथा कार्यक्रम सभामा पेस गरिसक्नुभएको छ । उक्त नीति तथा कार्यक्रमका आधारमा महानगरपालिकाले आगामी आवका लागि बजेट सभामा पेस गरेको हो । 

Jantedhunga
प्रतिक्रिया