खोटाङमा बाँदर खेदाउने क्रममा भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु

Jantedhunga

खोटाङमा। खोटाङमा बाँदर खेदाउने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित जंगलमा मंगलबार दिउँसो करिब २ः३० बजे घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

प्रहरीका अनुसार बाँदर खेदाउने क्रममा ५४ वर्षीय भलबहादुर तामाङले चलाएको भरुवा बन्दुकको गोली लाग्दा ५३ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो। गोली श्यामबहादुरको टाउकोमा लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट खार्मीबाट प्रहरी सहायक हवल्दार विक्रम रायको कमान्डमा तीन जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले गोली चलाउने भनिएका भलबहादुर तामाङलाई नियन्त्रणमा लिनुका साथै भरुवा बन्दुकसमेत नियन्त्रणमा लिएको छ।

मृतकको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक निराजन बस्नेतको कमान्डमा छ जनाको टोली घटनास्थलतर्फ खटाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

Jantedhunga
प्रतिक्रिया