इटहरी । सुनसरीको देवानगञ्ज क्षेत्रमा भएको घटनापछि उत्पन्न तनावका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत पकलीदेखि कोशी ब्यारेजसम्मको सडकखण्डमा प्रदर्शन चर्किएपछि यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ। प्रदर्शनकारीहरूले विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेपछि सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।
सडक अवरोधका कारण पूर्व र पश्चिमतर्फ सञ्चालन हुने लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन हुन नसक्दा यात्रुहरूले सास्ती खेप्नुपरेको छ। अत्यावश्यक कामका लागि यात्रा गरिरहेका सर्वसाधारणसमेत राजमार्गमै रोकिएका छन् भने मालवाहक सवारी साधन पनि गन्तव्यमा पुग्न सकेका छैनन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुरक्षा अवस्थालाई मध्यनजर गर्दै इटहरीबाट पश्चिमतर्फ जाने सवारी साधनलाई अस्थायी रूपमा रोकिएको छ। सडकमा भइरहेको प्रदर्शन र आगजनीका कारण दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले यातायात सञ्चालन रोकिएको प्रहरीले जनाएको छ।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको परिचालन गरिएको छ। सडक खुलाउने प्रयास जारी रहे पनि समाचार तयार पार्दासम्म यातायात सञ्चालन हुन सकेको थिएन।
प्रशासनले सर्वसाधारणलाई अफवाहको पछि नलाग्न, आधिकारिक सूचनामात्र विश्वास गर्न तथा अवस्था सामान्य नभएसम्म अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो