जन्तेढुंगा संवाददाता
खोटाङ । नेपालका कारागारभित्र हुने विकृति, विसंगति र बेतिथिहरुका बारेमा जन्तेढुंगा डटकमले सामग्री पाठक सामु प्रस्तुत गर्दै आइरहेको छ । संखुवासभाको जिल्ला कारागारभित्र भएको पासविक र अमानविय घटनाले कारागारभित्र मौलाएको गुण्डागर्दी प्रष्ट पारेको छ । २ जना कैदीको सुरक्षा घेराभित्रै शंकास्पद निधन भएको छ ।
जिल्ला कारागार संखुवासभामा दुईजना कैदीको सुरक्षा घेराभित्रै शंकास्पद मृत्यु भएपछि विवाद चुलिएको छ । बुधबार बिहान कारागारभित्र दुईजनाको मृत्यु भएपछि मृतकका आफन्तले निष्पक्ष छानबिन माग गर्दै शव बुझेका छैनन् । मृत्यु हुनेमा विनोद तोलांगी र आकाश बलामी छन् ।
घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने मृतक विनोदका काका कृष्णले बताए । ‘नागरिकको सुरक्षामा खटिएका प्रहरीबाटै सुरक्षा घेराभित्रका मानिसको मृत्यु हुन्छ भने अब कसको विश्वास गर्ने ?’ कृष्णले प्रतिप्रश्न गरे । मृतककी कान्छी दिदी भीमा रम्तेलले कारागारभित्र भएको घटना शंकास्पद भएको दाबी गर्दै हत्यारा पत्ता लगाई कारबाही नभएसम्म शव नबुझ्ने बताइन् । मृतकको शरीरभरि नीलडाम रहेको र बीभत्स रूपमा हत्या गरिएको आफन्तको आरोप छ । मादी नगरपालिकाकी उपमेयर सुनितादेवी भट्टराईले निष्पक्ष छानबिन नभए मादी नगरपालिका र संखुवासभाली जनताले प्रशासन र प्रहरी घेराउन गर्ने चेतावनी दिइन् ।
संखुवासभामा क्रियाशील रहेका सात दलले निष्पक्ष छानबिनमा सहयोग पुर्याउने भन्दै कार्यदल गठन गरेका छन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्य हेमराज घिमिरेको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । जसमा कांग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपा र जसपाबाट एक–एकजना प्रतिनिधि छन् । छानबिन समितिका संयोजक घिमिरेले प्रहरी प्रशासनको गतिविधिको मात्रै विश्वास नलागेर राजनीतिक दलका तर्फबाट समेत कार्यदल गठन गरिएको बताए ।
कारागारमा कैदीको मृत्यु भएपछि सरकारी तहमा तीनवटा समिति बनेको छ । केन्द्रमा कारागार विभागका महानिर्देशक कमलप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति, कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाको संयोजकत्वमा पाँच सदस्यीय समिति र जिल्ला प्रशासन कार्यालय संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको छ । घटनाको छानबिन र अनुसन्धान गर्न कोसी प्रदेशको प्रहरी टोली खाँदबारी आइपुगेको छ । टोलीले घटनास्थल वरपर, स्थानीयसँग सोधपुछ र शवको अनुसन्धान गरिरहेको छ । टोलीमा प्रदेश प्रहरी कार्यालयका एसपी ऋषिराम कँडेल, प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई छन् ।
जिल्ला कारागारमा रहेको सिसिक्यामेरा फुटेजबाट वास्तविकता खुल्न सक्ने भएकाले सो फुटेज सार्वजनिक गर्नुपर्ने स्थानीयवासी र दलहरूले माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा फुटेज सार्वजनिक गर्न माग गरिएको हो । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले कारागारभित्रको सिसिक्यामेरा फुटेज अहिले अनुसन्धानको चरणमा रहेको बताउँदै आवश्यकताअनुसार सार्वजनिक गर्ने बताए ।
कारागारको सुरक्षा घेराभित्र कैदीको हत्या हुनुले प्रहरी सुरक्षाभित्र आशंका थपिएको छ । भाग्ने क्रममा समातिएपछि प्रहरीले नै हत्कडी लगाएर, कपडा खोलेर बाहिर कुटपिट गरेको कारागार वरपरका छिमेकीले बताएका छन् । उनीहरूले रातभरि कुटपिट गरेको, तर बिहान मृत्यु भयो भन्दा छक्क परेको बताएका छन् । मृतकका आफन्तले प्रहरीले कुटेर मारेको र बिहान बहाना बनाउन मात्रै अस्पताल लगिएको आरोप लगाएका छन् । मृतकका आफन्तले कर्तव्य ज्यान मुद्दामा प्रहरी र कारागार प्रशासनविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बुधबार उजुरी दर्ता गराउन खोज्दा प्रहरीले दर्ता गर्न मानेको थिएन । बिहीबार दिउँसो करिब २ बजेतिर कारागार प्रशासनविरुद्ध भनेर उजुरी सच्याएपछि कर्तव्य ज्यान मुद्दामा उजुरी दर्ता गराएको मृतकका काका कृष्ण तोलांगीले बताए ।
शव जिल्ला अस्पताल खाँदबारीको शवगृहमा राखिएको छ । बिहीबार मृतकका आमा खुलामाया तोलांगी, दिदी भीमा, काका कृष्णलगायत आफन्त र मादी नगरपालिकाकी उपमेयर सुनितादेवी भट्टराई र वडाध्यक्षलगायत जनप्रतिनिधिलाई मात्रै शव हेर्न दिइएको थियो । पत्रकारलाई शव हेर्न अनुमति दिइएन । कारागारमा दुईजनाको मृत्यु भएपछि कैदीहरूले आन्दोलन गरेपछि नौजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा सारिएको संखुवासभाका प्रहरी प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो