रौतहटमा ७५ वर्षीया हजुरआमाको हत्या गर्ने नाति पक्राउ

Jantedhunga

रौतहट, साउन १६ । रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा एक ७५ वर्षीया वृद्धा आफ्नै घरमा मृत अवस्थामा फेला परेपछि प्रहरीले हत्या आरोपमा उनका १८ वर्षीय नातिलाई पक्राउ गरेको छ।

मृतक तेतरी खातुन साउन १४ गते साँझ आफ्ना माइलो छोरा शेख निमुदिनको घरभित्र रहेको खाटमा मृत अवस्थामा भेटिएकी थिइन्। घटनास्थितिले मृत्यु स्वाभाविक नभएको संकेत देखिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरुडाको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा मृतकका नाति साहिद शेखमाथि शंका उत्पन्न भएपछि उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा साहिदले आफ्नी हजुरआमाको हत्या गरेको स्वीकार गरेका छन्। यद्यपि घटनाको वास्तविक कारण अझै स्पष्ट हुन नसकेको र विभिन्न पक्षबाट अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

हाल पक्राउ परेका साहिदविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

Jantedhunga
प्रतिक्रिया