बालविवाह र हिंसा न्यूनीकरण गर्न कोशीका १७ पालिकामा परियोजना

Jantedhunga

सुनसरी । बालबालिकाको अधिकार संरक्षण, हिंसा तथा दुर्व्यवहारको अन्त्य र न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कोशी प्रदेशका तीन जिल्लाका १७ स्थानीय तहमा बालबालिकाको न्यायमा पहुँच सुदृढीकरण परियोजना सञ्चालन गरिएको छ।

ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड), सुनसरीको सहजीकरण, जस्ट राइट फर चिल्ड्रेन इन नेपालको आर्थिक सहयोग तथा कोशी प्रदेश सरकारको महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा परियोजना सञ्चालन गरिएको हो।

सन् २०२६ अक्टोबर १ देखि सुरु भएको परियोजना सुनसरी, मोरङ र झापा जिल्लाका १७ स्थानीय तहमा कार्यान्वयन भइरहेको छ। बालविवाह, बाल यौन दुर्व्यवहार, बाल बेचबिखनलगायत बालबालिकामाथि हुने सबै प्रकारका हानिकारक अभ्यास तथा हिंसा अन्त्य गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको छ।

परियोजनाले बालबालिकाको संरक्षण, अधिकार सुनिश्चितता र न्यायमा पहुँच सहज बनाउन स्थानीय सरकारदेखि समुदायस्तरसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

परियोजनाअन्तर्गत स्थानीय तहमा बाल संरक्षण नीति निर्माण तथा कार्यान्वयन, बालबालिकासम्बन्धी घटनाको प्रभावकारी व्यवस्थापन, सरोकारवालाको क्षमता अभिवृद्धि, सामुदायिक अभिमुखीकरण तथा बालअधिकारसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार र शोषणका घटनाको रोकथाम तथा प्रभावित बालबालिकालाई आवश्यक संरक्षण र न्याय प्राप्तिका लागि स्थानीय तह, विद्यालय, समुदाय तथा सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई समेत परियोजनाले प्राथमिकता दिएको छ।

बालबालिकाको अधिकार संरक्षणका लागि स्थानीय तहमा नीतिगत व्यवस्था, संस्थागत क्षमता र समुदायको सचेतना अभिवृद्धि गर्दै बालमैत्री संरक्षण प्रणाली विकास गर्ने लक्ष्य परियोजनाले लिएको छ।

हिंसा, दुर्व्यवहार र शोषणमुक्त समाज निर्माण गर्दै प्रत्येक बालबालिकाले सुरक्षित वातावरणमा हुर्कन, आफ्ना अधिकार उपभोग गर्न तथा न्यायमा सहज पहुँच प्राप्त गर्न सक्ने वातावरण निर्माणमा परियोजनाले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड), सुनसरीले विगत लामो समयदेखि महिला सशक्तीकरण, बालअधिकार संरक्षण, लैंगिक समानता, सामाजिक न्याय तथा समुदायको समग्र विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। विशेषगरी महिला तथा बालबालिकामाथि हुने हिंसा, बालविवाह, बालश्रम र अधिकार उल्लङ्घनका घटनाको न्यूनीकरणका क्षेत्रमा संस्थाले काम गर्दै आएको छ।

Jantedhunga
प्रतिक्रिया