खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडाध्यक्षसहित सबै निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएपछि वडा नेतृत्वविहीन बनेको छ । पद रिक्त भएसँगै वडा कार्यालयबाट हुने सेवा प्रवाह र दैनिक कामकाजमा समेत असर परेको स्थानीयले बताएका छन् ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित जनप्रतिनिधिहरूको पद रिक्त भएको सूचना सार्वजनिक गरेपछि पाथेका वडा समिति विहीन बनेको हो ।
दलको नीति, सिद्धान्त तथा निर्णयविपरीत गतिविधि गरेको भन्दै जसपा नेपालले दल त्यागसम्बन्धी जानकारी निर्वाचन आयोगलाई गराएपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार पद रिक्त भएको निर्णय गरेको जनाएको छ ।
पद रिक्त हुनेमा वडाध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक, वडा सदस्य रामधन राई र शहरमनी राई तथा नगर कार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नाल रहेका छन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा मुगा धन राई जसपा नेपालबाट वडा नम्बर १० पाथेकाको वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले ७५५ मत प्राप्त गरेका थिए ।
जनप्रतिनिधिको पद रिक्त भएपछि बिहीबारदेखि वडा कार्यालयबाट हुने सेवा प्रवाहमा समस्या देखिएको स्थानीयको भनाइ छ । जनप्रतिनिधि नहुँदा नागरिकका सिफारिस, स्थानीय समस्या समाधान, विकास निर्माणसम्बन्धी निर्णय तथा अन्य कामकाज प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११३ अनुसार कुनै सदस्यको पदपूर्ति नभएको कारणले मात्रै गाउँपालिका वा नगरपालिकाबाट भएका कामकारबाही बदर हुँदैनन् । वडा निर्वाचन नभएको अवस्थामा निर्वाचन सम्पन्न नहुँदासम्म नगर कार्यपालिकाले कर्मचारीलाई वडाध्यक्षको कार्य गर्ने गरी जिम्मेवारी तोक्न सक्ने व्यवस्था रहेको छ ।
यस व्यवस्थाअनुसार पाथेका वडा कार्यालयको नियमित सेवा सञ्चालनका लागि नगरपालिकाले कर्मचारीमार्फत वैकल्पिक व्यवस्था गर्न सक्ने देखिन्छ । तर निर्वाचित जनप्रतिनिधि नहुँदा वडाको राजनीतिक प्रतिनिधित्व तथा सामूहिक निर्णय प्रक्रियामा भने असर पर्नेछ ।
अब नगरपालिकाले वडा कार्यालयको सेवा प्रवाहलाई सहज बनाउन कस्तो जिम्मेवारी तोक्छ भन्ने विषय चासोको रूपमा रहेको छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो