खोटाङ । जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित खोटाङका ८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगले दल त्याग गरेको सम्बन्धमा सूचना प्रकाशित गर्दै उनीहरूको निर्वाचित पद स्वतः रिक्त भएको जानकारी गराएको हो।
निर्वाचन आयोगले २०८३ मंसिर ३ गते प्रकाशित सूचनामा २०७९ सालको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी, नेपालको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भन्दै सम्बन्धित पार्टीको केन्द्रीय समितिको निर्णयसहित आयोगमा जानकारी प्राप्त भएको उल्लेख गरेको छ।
आयोगको मंसिर २ गतेको निर्णयअनुसार खोटाङका विभिन्न स्थानीय तह तथा जिल्ला समन्वय समितिमा निर्वाचित ८ जनाको पद रिक्त भएको जनाइएको छ।
पद रिक्त हुनेमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरु राज राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वडा नम्बर १० का वडाध्यक्ष मुगा धन राई रहेका छन्।
त्यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १० का वडा महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गिता वि.क., वडा सदस्य रामधन राई र शहर मनी राई तथा नगर कार्यपालिकाका सदस्य विरेन्द्र कुमार दर्नालको पदसमेत रिक्त भएको आयोगको सूचनामा उल्लेख छ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्यागसम्बन्धी निर्णय र जानकारीका आधारमा आयोगले निर्वाचित पद रिक्त भएको सूचना प्रकाशित गरेको हो।
आयोगको सूचनामा खोटाङसहित सिराहा, पर्सा, भोजपुर, उदयपुर, इलाम र सुनसरीका जनप्रतिनिधिहरूको पद रिक्त भएको विवरणसमेत समावेश छ। देशभरका विभिन्न स्थानीय तहका गरी कुल १८ जना निर्वाचित जनप्रतिनिधिको नाम सूचनामा उल्लेख गरिएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो