जन्तेढुंगा संवाददता
काठमाडौं । नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतलाई संकटोन्मुख अर्थतन्त्र ट्रयाकमा ल्याउने सबैभन्दा ठूलो र प्रमुख चुनौती छ । शुक्रवार अर्थमन्त्री नियुक्त भएसँगै मन्त्रालयमा पदभार ग्रहण गर्दै महतले निजी क्षेत्रको समन्वयमा काम गर्ने, लागत घटाएर निजी क्षेत्रमाथिको विश्वास बढाउने तथा अर्थतन्त्रमा अहिले प्रवाह भएको नकारात्मक सन्देशलाई चिर्ने बताएका छन् ।
अर्थतन्त्रमा सर्वसाधारण, साना व्यवसायीदेखि ठूला व्यापारीरउद्योगीसम्मको आत्मविश्वास बढाएर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
देशको अर्थतन्त्रको सूचक भने बिस्तारै नकारात्मक हुँदै गएको छ । यो अवस्थामा महतले भनेजस्तै सहजै अर्थतन्त्र लयमा ल्याउन भने निकै चुनौती देखिन्छ । सरकारको राजस्व संकलन चालू आर्थिक वर्षको पछिल्लो ८ महिनामा डेढ खर्ब रुपैयाँले घटिसकेको, कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्था आइरहेको, विकास खर्च कम भएको र साधारण खर्च मात्रै बढेको अवस्था छ ।
बजारमा तरलता अभाव हुँदा बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएका छन् । सर्वसाधारणले महंगी महसूस गरिरहेका छन् । तरलता अभावले अर्थतन्त्र चालू आव लागेदेखि नै संकुचित बन्दै गइरहेको छ । सरकारले पछिल्लो समय लिएको राजस्व नीतिको असर अहिले देखिन थालेकाले अर्थतन्त्र चलयमान बनाउन आयात र निर्यातको अनुपात मिलाउनुपर्ने सहितको चुनौती अर्थमन्त्रीलाई छ ।
