देशभर आँखा पाक्ने रोगको प्रकोप फैलिँदै

Jantedhunga

जन्तेढुंगा संवाददाता

खोटाङ । विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको हो । 

काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताललगायत देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको छ । तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा। सृजना अधिकारीले आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक एक सय जनासम्म आउने गरेको जानकारी दिइन् । 

भाइरल इन्फेक्सन र ब्याक्टेरीयाको कारणले आँखा पाक्ने समस्या देखिने गरेको उनले बताइन्। धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरू अस्पताल आउने गरेको उनले बताइन् । 

यो पटक विगतको वर्षहरूभन्दा धेरै नै केसहरू देखिएको उनको भनाइ छ । ‘यो एउटा भाइरल इन्फेक्सन नै मानिन्छ । आँखा पाक्ने ब्याक्टेरियाको कारणले पनि हुन्छ । तर, जुन समुदायमा इपिडिमिक रूपमा फैलिन्छ । त्यो चाहिँ भाइरल इन्फेक्शनले गर्दा फैलिन्छ,ु उनले भनिन्, ुधेरैजसोमा इडीनोभाइरल भन्ने भाइरस हुन्छ । आँखा पाक्ने साथै रुघाखोकी, ज्वरो पनि आउन सक्छ । कतिपय व्यक्तिमा भाइरल ज्वरो, भाइरल रुघाखोकी हुन्छ ।’

आँखाको नानी विशेषज्ञ डा। लिना बज्राचार्यले  भाइरसको कारणले गर्दा इन्फेक्सन भए आँखा पाक्ने समस्या आउने बताइन् । उनले आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्ने र यो एकदम फैलिने बताइन् । 

डा. बज्राचार्यका अनुसार आँखा पाकिहाले आँखा रातो हुने, अफ्ठयारो महसुस हुने हुन्छ । यसबाट बच्न आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्ने उनको सुझाव छ । ‘आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्छ । यो एकदम फैलिन सक्छ । आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्छ,ु उनले भनिन्, ‘आँखा पाकिहाल्यो भने आइसोलेसनमा बस्नुपर्छ ।  आँखाको आँसुबाट फैलिन्छ । सँगै बसेर सँगै गफ गरेर फैलिने होइन । एक व्यक्तिको आँखाको तत्व अर्को व्यक्तिमा पुग्यो भने फैलिने हो । ’

आँखा रोग विशेषज्ञहरूले कुनै पनि व्यक्तिमा आँखा पाक्ने समस्या देखिए हेलचेक्र्याइ गर्न नहुने भन्दै आँखा पाकिहाले नजिकको आँखा केन्द्रमा गएर चिकिच्सकको परामर्श लिनुपर्ने र जथाभावी औषधिको प्रयोग गर्न नहुने सुझाव दिएका छन् । 


के गर्ने ?

आँखा चिसो पानी वा बरफले सेक्ने

सफा पानीले आँखा सफा गर्ने

घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने

संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने 


के नगर्ने ? 

संक्रमित आँखालाई सकेसम्म नचलाउने

स्कुल,कलेज र अन्य भीडभाड भएको ठाउँमा नजाने

अरुले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्ने

आफूखुशी औषधिको प्रयोग नगर्ने 


Jantedhunga
प्रतिक्रिया