"रक्तदान: जीवनको सर्वोच्च उपहार" : सन्दर्भ विश्व रक्तदाता दिवस

Jantedhunga

 लेखनाथ सिकारू                                               थाकेका आँखामा आशा फर्कन्छ,

मलिन अनुहार फेरी फुल्छ, चम्कन्छ।

जीवन चिच्याउँछ, “म अझ बाँच्न चाहन्छु ।”

तिमी आउँछौ-रगत लिएर, मृत्युलाई झुकाउँछ।                              

काठमाडौं ।आज विश्व रक्तदाता दिवस। मानव जीवन बचाउने महान कार्य  रक्तदान  को महत्वबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस विश्वभर मनाइन्छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरी रक्तदाताहरूको योगदानलाई कदर गरिँदैछ।

सन् २००४ देखि प्रत्येक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ, जुन विश्वविख्यात वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्म दिन पनि हो  जसले मानव रक्त समूह (ब्लड ग्रुप) को खोज गरे।

किन आवश्यक छ रक्तदान ?

रगत हाम्रो शरीरको जीवनधार हो। यसले अक्सिजन, पोषक तत्व, हर्मोन तथा जीवनका लागि आवश्यक तत्त्वहरू शरीरका सबै भागमा पुर्‍याउँछ। त्यस्तै, शरीरमा बन्ने अनावश्यक पदार्थहरू (जस्तै कार्बन डाइअक्साइड, युरिया आदि) हटाउने काम पनि रगतले नै गर्छ।

एक स्वस्थ वयस्कको शरीरमा औसत ५.५ लिटर रगत हुन्छ, जुन शरीरको कुल वजनको लगभग ७% हो। रगतको सामान्य संरचना यस्तो हुन्छ:

प्लाज्मा: ५५% (पानी, प्रोटिन आदिले भरिएको)

रक्तकणहरू: ४५% (रातो, सेतो रक्तकोष र प्लेटलेट्स)

रक्तदान: पुण्यको अवसर

रक्तदानबाट मृत्युको मुखमा पुगेका विरामीको ज्यान बचाउन सकिन्छ। चिकित्सकहरूका अनुसार १८ देखि ६५ वर्षसम्मका स्वस्थ व्यक्तिले हरेक ३ महिनामा एकपल्ट रक्तदान गर्न सक्छन्। रक्तदान गर्दा शरीरमा कुनै नोक्सान हुँदैन, बरु नयाँ रक्त निर्माणलाई सक्रिय बनाउँछ।

एकजनाले दिएको रगतबाट छुट्याइएको तीनवटा तत्व (प्लाज्मा, रगतकोष, प्लेटलेट्स) तीनजनासम्मका ज्यान बचाउन उपयोग गर्न सकिन्छ। त्यसैले रक्तदानलाई ‘जीवनदान’ पनि भनिन्छ।

रक्तदानसम्बन्धी सामान्य भ्रमहरू

१. रक्तदान गर्दा कमजोरी हुन्छ - गलत। शरीरले केही दिनमै नयाँ रगत उत्पादन गर्छ।

२. मोटोपन वा मुटुरोगीले रक्तदान गर्न हुँदैन - चिकित्सकको सल्लाह अनुसार धेरै अवस्थामा सम्भव हुन्छ।

३. रक्तदान गर्दा धेरै पीडा हुन्छ - सामान्य सुईको झिनो चोटबाहेक खासै दुखाइ हुँदैन।

४. सबैले रक्तदान गर्न मिल्छ? - होइन। तीव्र रोग, संक्रमण, अत्यधिक कम तौल वा विशेष अवस्थामा रक्तदान गर्न नमिल्न सक्छ।

रक्तदाताहरूको सम्मान र संरक्षण आवश्यक

रक्तदाता स्वयंसेवीहरू समाजका सच्चा नायक हुन्। उनीहरूको योगदानको सम्मानमा:

विशेष रक्तदाता कार्ड वितरण

उपचार वा आकस्मिक अवस्थामा रगतको प्राथमिक पहुँच

सार्वजनिक यातायात वा अन्य सेवामा सहुलियत

राष्ट्रिय सम्मान र सामाजिक प्रेरणाको रूपमा उभ्याउने व्यवस्था

यस्ता पहलले अझ धेरैलाई रक्तदानप्रति आकर्षित गर्न सकिन्छ।

निष्कर्ष: सधैं जीवन दिन तयार रहौं

रगत न त लामो समयसम्म भण्डारण गर्न सकिन्छ, न त कृत्रिम रूपमा बनाइन्छ। त्यसैले जीवित अवस्थामा रक्तदान गर्नु नै सबैभन्दा ठूलो उपहार हो।

आजको दिन, विश्व रक्तदाता दिवसमा, हामी सबैले संकल्प गरौं 

"रगत खेर जान नदिऔं, जीवन दान गरौं!"

रगत छोटो आयूमै मर्ने, खेर जाने र पुनःनिर्माण हुने भएकाले मरेर खेर जाने रगतलाई दान गर्नु नै अति उत्तम।

Jantedhunga
प्रतिक्रिया