बालोदय आधारभूत विद्यालयले पनि बाल दिवस मनायो ।

Jantedhunga

खोटाङ २९ भदौ । राष्ट्र व्यापी रुपमा मनाउदै आएको राष्ट्रिय बाल दिवस जन्तेढुंगा ५ नाटेपानी स्थित बालोदय आधारभूत विद्यालयले पनि जिल्ला समन्वय समिति सदस्य मोहन सुप्तिहाङको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ ।

"बालबालिकामा लगानी - सुनिश्चित भविष्यको थालनी" भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा हाजिरी जवाफ र साना बालबालिकाको लागि गिलासमा पानी भर्ने खेलको आयोजना गरिएको थियो ।

हाजिरी जवाफ प्रतियोगिता कक्षा १ देखि ५ र कक्षा ६ देखि ८ सम्मको लागि छुट्टाछुट्टै दुई चरणको कार्यक्रमको आयोजना गरि प्रतिस्पर्धा गराइएको थियो ।

गिलासमा पानी भर्ने खेल अन्तर्गत सुस्कर कार्की, हिमानी कोइराला र एनु राई क्रमशः प्रथम, द्वितीय र त्रितिय हुनु भएको छ ।

हाजिरी जवाफ अन्तर्गत कक्षा ६ देखि ८ को प्रतिस्पर्धामा संजिब नेपालीको समूह प्रथम,  सञ्जीवनी विकको समूह द्वितीय र सुमन तामाङको समूह त्रितिय हुनु भएको छ ।

त्यस्तै हाजिरी जवाफकै १ देखि ५ कक्षा समूह अन्तर्गतको प्रतिस्पर्धामा प्रदीप नेपालीको समूह प्रथम, सुबिन तामाङको समूह द्वितीय र प्रमिला खत्रीको समूह तृतीय हुन सफल हुनु भएको छ ।

कार्यक्रममा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई प्रमुख अतिथि लगायत अतिथि र प्रधानाध्यापकले  पुरस्कार वितरण गर्नु भएको थियो ।

सोही कार्यक्रममा शैक्षिक सत्र २०७९/८० को परीक्षामा विद्यालय प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरु क्रमशः सञ्जीवनी विक,  अरुणा राई र हिमानी कोइराला लगायत कक्षा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुदेव राईको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका दिल कुमारी राईले गर्नु भएको हो भने कार्यक्रमको उद्घोषण संचालन शिक्षक सन्तोष विकले गर्नु भएको थियो ।



Jantedhunga
प्रतिक्रिया