जन्तेढुंगा गाउँपालिकाले मनायो ३२औं अन्तर्राष्ट्रिय अपांगता दिवस

Jantedhunga


तस्बिर :कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथि राई

चिसापानी ।आज डिसेम्बर ३ तारिख को दिन ''दिगो विकास लक्ष प्राप्तिको प्रतिबद्धता-अपांगता भएको व्यक्तिको अपनत्त्व र नेतृत्वको ऐक्यबद्धता'' भन्ने मूल नाराका साथ ३२ औं अंतरराष्ट्रीय अपांगता दिवसको अवसरमा जन्तेढुंगा गाउँपालिका द्वारा जिल्ला समन्वय समिति खोटाङका सदस्य मोहन सुप्तिहाङको प्रमुख आतिथ्यतामा अन्तरक्रियात्मक सीप तथा कला प्रदर्शनी सहित कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि सुप्तिहाङले अपांगता भएका व्यक्तिहरुका निम्ति मदन पुरस्कार विजेता साहित्यकार झमक कुमारी घिमिरेको जीवनीको बारेमा दृष्टान्त दिंदै विकसित मुलुकहरूमा सास देखि लास सम्म जीवन पर्यन्त राज्यले सम्पूर्ण पालन पोषणको जिम्मेवारी लिने गरेको बताउदै अब हाम्रो मुलुकले पनि सकेको केहि नकेही गर्नु पर्ने बताएका छन् ।

कार्यक्रममा आफ्नो समापन मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष अरुणा देवी राईले अपांगता हुनु भएका व्यक्तिहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धिका निम्ति गाउँपालिकाले सहयोग गर्ने भन्दै गाउँपालिकालाई कुनै पनि किसिमको लैंगिक तथा फरक क्षमता भएका व्यक्तिहरूको निम्ति पनि भेदभाव मुक्त गाउँपालिका बनाईने बताएका छन् ।

त्यस्तै कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले स्थानीय स्तरमा गठन भएको अपांग सेवा समाजलाई आधिकारिक रुपमा गाउँपालिकामा दर्ता गरि अगाडि बढ्न आग्रह गर्दै अपांगताको विषयमा गाउँपालिकामा पहिलो पटक कार्यक्रम भएको बताउदै आगामी दिनमा यसलाई निरंतरता दिएर अगाडि बढाउने बताएका छन् ।

उक्त कार्यक्रम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्थानीय सरकार र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय साझेदारीमा हुन लागेको करुणा फाउन्डेसनका जन्तेढुंगा गाउँपालिका र बाराहापोखरी गाउँपालिकाका फोकल पर्सन सचिन श्रेष्ठले जानकारी दिएका छन् ।

यस वर्ष खोटाङ सहित उदयपुर, ओखलढुंगा र सोलुखुम्बु जिल्लाका स्थानीय तहहरुमा समेत यो कार्यक्रम गरिने पनि श्रेष्ठले बताएका छन् ।

Jantedhunga
प्रतिक्रिया