उद्योगीमाथिको घटनाप्रति व्यवसायीको विरोध

Jantedhunga

विराटनगर । विराटनगरका प्रतिष्ठित उद्योगी प्रकाश मुन्दडाको निवास तथा कार्यालयमा प्रहरीले सञ्चालन गरेको खानतलासी अभियानप्रति कोशी प्रदेशका उद्योगी–व्यवसायीले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले पर्याप्त प्रमाण र विश्वसनीय आधारबिना गरिएको प्रहरी कारबाहीले निजी क्षेत्रलाई त्रसित बनाएको भन्दै घटनाको निष्पक्ष छानबिन र स्पष्टिकरणको माग गरेका छन्।

नेपाल उद्योग परिसंघ (कोशी), उद्योग संगठन मोरङ, मोरङ व्यापार संघलगायत व्यावसायिक संस्थाहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उद्योगी तथा व्यवसायीमाथि आतंककारीसरह व्यवहार गरिएको आरोप लगाएका छन्। उनीहरूले राज्यका निकायले कानुनी प्रक्रिया र मानव अधिकारको सम्मान गर्दै अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन्।

व्यवसायीहरूले यस्ता घटनाले उद्योग तथा व्यापार क्षेत्रमा डर, अन्योल र असुरक्षाको वातावरण सिर्जना गर्ने, लगानीकर्ताको मनोबल कमजोर बनाउने तथा प्रदेशको लगानी वातावरणमा नकारात्मक असर पार्ने बताएका छन्। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायसँग आवश्यक पहल गर्न आग्रह गरेका छन्।

यसैबीच, जिल्ला प्रहरी कार्यालय मोरङले भने विशेष सूचनाका आधारमा कानुनबमोजिम खानतलासी गरिएको जनाएको छ। प्रहरीले अनुसन्धानका क्रममा कुनै आपत्तिजनक सामग्री फेला नपरेको स्वीकार गर्दै अनुसन्धान प्रक्रिया कानुनी दायराभित्रै भएको दाबी गरेको छ।

Jantedhunga
प्रतिक्रिया