काठमाडौं । हिन्दू धर्मावलम्बीको महत्वपूर्ण पर्व जनैपूर्णिमा आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइँदैछ। श्रावण शुक्ल पूर्णिमाका दिन पर्ने यस पर्वमा तागाधारी समुदायले नयाँ यज्ञोपवीत धारण गर्ने र अन्य समुदायमा रक्षाबन्धन बाँध्ने प्रचलन छ।
पर्वका अवसरमा बिहानैदेखि नदी, पोखरी, तालतलैया तथा विभिन्न तीर्थस्थलमा स्नान गर्न जाने भक्तजनको भीड लागेको छ। गुरु तथा पुरोहितबाट वैदिक मन्त्रसहित अभिमन्त्रित रक्षासूत्र बाँध्ने परम्परा पनि यस दिनको प्रमुख धार्मिक गतिविधिमध्ये एक हो। धार्मिक विश्वासअनुसार मन्त्रद्वारा शुद्ध गरिएको रक्षासूत्र धारण गरेमा अनिष्ट तथा नकारात्मक प्रभावबाट जोगिन सकिन्छ।
तागाधारी समुदायले भने जनैपूर्णिमालाई नयाँ यज्ञोपवीत फेर्ने विशेष अवसरका रूपमा लिने गर्छन्। पूर्णिमाको दिन स्नान गरी वैदिक विधिअनुसार ऋषिहरूको तर्पण गरेपछि नयाँ जनै धारण गर्ने चलन छ। यसअघि चतुर्दशीदेखि नै शुद्धता कायम गर्दै संयमित जीवन बिताउने धार्मिक परम्परा रहेको छ।
यस दिन कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य ऋषिको स्मरण तथा पूजा–तर्पण गरिन्छ। अरुन्धतीसहित आठ ऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ‘ऋषितर्पणी’ भन्ने गरिएको हो। यज्ञोपवीतलाई वैदिक संस्कारमा ज्ञान, कर्तव्य र धार्मिक अनुशासनको प्रतीकका रूपमा पनि लिइन्छ।
काठमाडौं उपत्यकाका पशुपतिनाथ, वसन्तपुर क्षेत्र, वाग्मतीका घाटलगायत धार्मिकस्थलमा बिहानदेखि नै भक्तजनको आवागमन बढेको छ। उपत्यकाबाहेक देशभरका मठमन्दिर, कुण्ड तथा तीर्थस्थलमा पनि स्नान, पूजा र अन्य धार्मिक अनुष्ठान सञ्चालन भइरहेका छन्।
जनैपूर्णिमासँग जोडिएको अर्को महत्वपूर्ण परिकार क्वाँटी हो। विभिन्न प्रकारका गेडागुडी भिजाएर टुसा उमारेर बनाइने क्वाँटी यो दिन विशेष रूपमा खाने गरिन्छ। वर्षायाममा पौष्टिक आहारका रूपमा यसको प्रयोग गर्ने परम्परा नेपाली संस्कृतिमा लामो समयदेखि रहँदै आएको छ।
तराई तथा मधेसका विभिन्न क्षेत्रमा भने यही पर्वलाई राखी वा रक्षाबन्धनका रूपमा मनाउने चलन छ। दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँध्दै दीर्घायु, सुख र समृद्धिको कामना गर्ने गर्छन्। पछिल्लो समय राखी बाँध्ने संस्कृति अन्य भेगमा समेत फैलिँदै गएको छ।
जनैपूर्णिमाको अवसरमा विभिन्न धार्मिक तथा पर्यटकीयस्थलमा विशेष मेला र धार्मिक कार्यक्रमसमेत आयोजना हुने गर्छन्। काठमाडौंको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, जनकपुरधाम, धनुषसागर, गंगासागर, जुम्लाको दानसाधु तथा नवलपरासीको त्रिवेणीधामलगायतका तीर्थस्थलमा यस अवसरमा भक्तजन पुग्ने गर्छन्।
धार्मिक संस्कार, पारिवारिक सम्बन्ध र नेपाली मौलिक संस्कृतिलाई जोड्ने जनैपूर्णिमा विविध समुदायका आ–आफ्ना परम्परासहित मनाइने महत्वपूर्ण पर्वका रूपमा स्थापित छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो