खोटाङ ।खोटाङको बाराहापोखरी गाउँपालिका स्थित बाराहापोखरीमा सांस्कृतिक महोत्सव सम्पन्न भएको छ ।
बाराहापोखरी गाउँपालिकाको आयोजना र खोटाङ कलाकार समाजको सह आयोजनामा भएको महोत्सवमा प्रतिनिधिसभाका सदस्य माननीय रामकुमार राई (पासाङ) द्वारा प्रमुख अतिथिको व्यास बाट कार्तिक ६ गते बुधबार बाराहापोखरी स्थित शंखेश्वरी माविमा आयोजित एक विशेष समारोहका बिच पानसमा दीप प्रज्वलन र ब्यानर वाचन गरि उद्घाटन भएको थियो ।
बाराहापोखरीको ऐतिहासिक एवं धार्मिक महत्त्वलाई सबै सामु पुर्याउने मूल उद्देश्यका साथ आयोजना गरिएको उक्त सांस्कृतिक महोत्सवमा गायक एवं संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति माननीय शम्भु राई, चर्चित गायक कमल खत्री, हास्य कलाकार सुबोध गौतम लगायत खोटाङ कलाकार समाजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै महोत्सव उद्घाटन समारोहमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राई, जिल्ला समन्वय समिति सदस्य मोहन सुप्तिहाङ, जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष अरुणा देवी राई, खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिम बहादुर राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राई, जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेम खड्का, खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेस राई नेपाली कांग्रेस खोटाङका जिल्ला प्रतिनिधि तारामान राई, नेकपा एमाले खोटाङका अध्यक्ष राम दंगाल लगायतका आमन्त्रित अतिथिहरु बाट शुभकामना व्यक्त गरिएको थियो ।
समारोहमा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि सांसद राईले खोटाङका बाराहापोखरी जस्ता महत्त्वपूर्ण ठाउँहरुको विकासका निम्ति व्यवस्थित सडकहरू निर्माण र प्राकृतिक नाकाबन्दीको रूपमा रहेको कोसीको पुल निर्माण चाडै सम्पन्न हुनु पर्ने भन्दै चुनावी दौरानमा आफूहरूले गरेको प्रतिबद्धता आफ्नै कार्यकालमा पूरा गरि छाड्ने बताएका छन् ।
शुभकामना व्यक्त गर्ने क्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राईले संघीयताको मर्म अनुसार संघीय सरकारले स्थानीय तहहरुलाई बलियो बनाउदै पूर्ण बजेट स्थानीय तहमा पठाउनु पर्ने भन्दै यसो भए बाराहापोखरी जस्ता ठाउँहरुको विकास गर्न कसैको मुख ताक्नु नपर्ने तर्क गरेका छन् ।
शुभकामनाकै क्रममा जिल्ला समन्वय समिति खोटाङका सदस्य मोहन सुप्तिहाङले नेपाल सरकारले बाराहापोखरीलाई नेपालको पर्यटन प्रवर्द्धनका निम्ति सय गन्तव्य स्थानमा सूचीकृत गरेको बताउदै यस क्षेत्रको धार्मिक महत्त्वलाई सबै सामु चिनाउन सके पर्यटकहरुको आगमनले सिंगो खोटाङ जिल्लाकै समृद्धिमा टेवा पुग्ने बताएका छन् ।
अधिकांश वक्ताहरूले बाराहापोखरीको प्रचारप्रसारमा सबै जुट्नु पर्ने बताउदै यसले समग्र खोटाङ जिल्लाकै विकासका निम्ति सहयोग पुग्ने बताएका छन् ।
यहाँ प्रत्येक वर्ष हरिबोधिनी एकादशीको दिन भव्य मेला लाग्ने गर्दछ भने शिव रात्रि, राम नवमीमा पनि मेला लाग्नुको अतिरिक्त माघे सङ्क्रान्तिमा पनि मकर स्नान गर्न मानिसहरु आउने गर्छन् ।
मेलामा धामीझाँक्रीहरुको उपस्थितिलाई विशेष मानिने गरिन्छ भने यहाँ शंखेश्वरी महादेवको मन्दिर र किराँत देवता हुलुप्पा हुलुप्माको पनि गुफा रहेको छ ।
यस पोखरीमा दुर्लभ रातो माछा पाउनु यहाँको विशेषता हो भने यहाँ स्नान गर्दा चिताएको पूरा हुने जन विश्वास रहेकोले पनि टाढा टाढा बाट श्रद्धालु भक्तजनको उपस्थिति हुने गर्दछ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो