कुवेतमा ड्रोन आक्रमणमा ज्यान गुमाउने नेपाली तेह्रथुमका सोमकुमार तामाङ

Jantedhunga

काठमाडौं । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा ज्यान गुमाउने नेपाली तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ रहेको खुलेको छ।

कुवेतस्थित नेपाली राजदूतावासका अनुसार तामाङ कुवेतमा सवारी चालक (ड्राइभर) का रूपमा कार्यरत थिए। आक्रमणमा उनको मृत्यु भएपछि पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ।

दूतावासले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै सम्पूर्ण प्रक्रिया सहज रूपमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने जनाएको छ।

यसैबीच, कुवेतमा रहेका सबै नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सबै मापदण्डको पूर्ण पालना गर्न, अनावश्यक आवतजावत नगर्न, संयमित रहन तथा सुरक्षित स्थानमा बस्न नेपाली राजदूतावासले आग्रह गरेको छ।

क्षेत्रीय सुरक्षा अवस्था संवेदनशील बन्दै गइरहेका बेला नेपाली नागरिकलाई दूतावासबाट जारी हुने आधिकारिक सूचना तथा निर्देशनको नियमित रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ।

Jantedhunga
प्रतिक्रिया