काठमाडौँ । ‘कम्युनिस्ट समाजवादी पार्टी, नेपाल’ ले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति पक्षमा अभियान सञ्चालन गर्ने जनाएको छ।
सो पार्टीका संयोजक हरिकृष्ण गजुरेलद्वारा जारी विज्ञप्तिमा पार्टीको वैचारिक दिशालाई 'राष्ट्रिय मुक्ति क्रान्ति'काे विचारमा आधारित समाजवादी गणतन्त्र र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा अघि बढाउने जानकारी दिएका छन् ।
पार्टीले 'राष्ट्रिय मुक्ति एकता अभियान सञ्चालन गर्दै वैदेशिक हस्तक्षेप र आन्तरिक शोषणविरुद्ध जनतालाई सुसूचित गर्दै वर्तमान दलाल संसदीय व्यवस्थाबाट देशलाई मुक्त गरी स्वाधीन, समृद्ध र कानुनी राज्य निर्माण गर्न, र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागु गर्न संघर्ष गर्ने जनाएको छ। संघर्षको माध्यम बाट जनतालाई गाँस, बास, कपास र रोजगारीको सुनिश्चितता गरि शिक्षा तथा स्वास्थ्य सेवाको पूर्ण राष्ट्रियकरण तथा सर्वसुलभता सुनिश्चितता गर्न र आन्दोलनलाई उचाई प्रदान गर्न समान विचारमा रहेका समूह तथा व्यक्तिहरूलाई पार्टीमा समेट्ने, वैचारिक एवं राजनीतिक रूपमा नजिक रहेका दलहरूसँग कार्यगत एकता र संयुक्त मोर्चा हुँदै आवश्यक भए पार्टी एकतासमेत गर्ने नीति लिएको संयोजक हरिकृष्ण गजुरेलले जानकारी दिएका छन् ।
