काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणका क्रममा नेपाल र थाइल्यान्डबीच सरकारी तथा निजी क्षेत्रका आठवटा सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्बीच प्रतिनिधिमण्डलस्तरीय बैठकमा यी सम्झौताहरू सम्पन्न भएका हुन्।
सरकारी स्तरबाट दुई तथा निजी क्षेत्रबाट छ सम्झौतामा हस्ताक्षर गरिएको छ। नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणाले पर्यटन सहयोग आदान–प्रदान र सांस्कृतिक सम्बन्ध प्रवर्द्धनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिन्।
त्यस्तै, काठमाडौं विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच उच्च शिक्षामा सहकार्य गर्ने तथा नेपाल नेत्रज्योति संघ र माहिडोल विश्वविद्यालयअन्तर्गतको रामाथिबोडी अस्पतालबीच सहकार्यसम्बन्धी समझदारी भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ र थाइ चेम्बर अफ कमर्शबीच व्यापार विस्तारको समझदारी, नेपाल उद्योग परिसंघ र थाइ उद्योग महासंघबीच लगानी प्रवर्द्धनको सम्झौता तथा नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाइल्यान्डबीच पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी भएको छ।
त्यसैगरी, जनता एग्रो एण्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालयबीच जैविक प्रविधि मार्फत खाद्यान्न उत्पादन वृद्धि गर्ने सम्झौता भएको छ।
नेपाल र थाइल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ वर्षमा औपचारिक भ्रमण गर्ने ओली पहिलो नेपाली प्रधानमन्त्री हुन्। उनले यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउने उल्लेख गर्दै थाइ लगानीकर्तालाई नेपालका पर्यटन, ऊर्जा र व्यापार क्षेत्रमा लगानी गर्न आग्रह गरे।
थाइल्यान्डकी प्रधानमन्त्री शिनावात्ले जलविद्युत् र व्यापार प्रवर्द्धनमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताइन्। बैंकक-काठमाडौँ हवाई सम्बन्ध पुनःस्थापनाले पर्यटन र व्यापार प्रवर्द्धनमा टेवा पुग्ने उनले उल्लेख गरिन्। साथै, दुई देशबीच संयुक्त पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गर्ने समझदारी भएको जानकारी दिइन्।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो