जन्तेढुंङा ,खोटाङ। खोटाङमा भरुवा बन्दुक देखाएर धाकधम्की दिएको आरोपमा प्रहरीले दुईजनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार जन्तेढुंगा गाउँपालिका–५ छेतुवा खानीडाँडाका ७३ वर्षीया दिलमाया बुढाथोकीलाई लेनदेनको विषयमा भरुवा बन्दुक देखाएर धाकधम्की दिइएको भन्ने सूचनापछि इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा स्थानीय जसबहादुर राईका छोरा सन्तोष राई र सन्देश राईलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरूले भरुवा बन्दुक घरछेउको बारीमा दाउराको थुप्रोमा लुकाएर राखेको खुल्न आएको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त स्थानबाट एक थान भरुवा बन्दुक, BRILLANT लेखिएको खैरो रङको ब्यागभित्र रहेको DELTACIDE 28 लेखिएको सेतो डब्बामा राखिएका १४५ थान फलामका टुक्रा, रातो प्लास्टिकभित्र कागजमा बेरिएका गोलो आकारका ४ थान फलामका टुक्रा तथा कालो प्लास्टिकभित्र कागजमा बेरिएका १४ थान सेतो रङका फलामका टुक्रा बरामद गरेको जनाएको छ।
पक्राउ परेका सन्तोष राई र सन्देश राईविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा खोटाङ जिल्ला अदालतबाट हिरासतमा राख्ने म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिएका छन्।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो