काठमाडौं, २६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिएको पार्टीको सम्पर्क विशेष सङ्गठन कमिटीको टोलीलाई निर्देशनसहित बिदाइ गरेका छन्।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्थाको प्रत्यक्ष जानकारी लिन, पीडित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन तथा उद्धारकार्यमा प्रभावकारी रूपमा परिचालित हुन टोलीलाई निर्देशन दिएका हुन्।
उनले बाढीका कारण प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउन स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्न पनि आग्रह गरे। राहत वितरणमा वास्तविक पीडितलाई प्राथमिकता दिँदै आवश्यकताका आधारमा सहयोग पुर्याउनुपर्नेमा ओलीले जोड दिए।
भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटसहित त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ। बाढीका कारण सडक, पुल, जलविद्युत् आयोजना तथा निजी–सार्वजनिक संरचनामा समेत व्यापक क्षति पुगेको छ। रसुवामा मात्रै प्रारम्भिक विवरणअनुसार ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति पुगेको जनाइएको छ।
बाढीपछि नुवाकोट र रसुवामा उद्धार, राहत तथा पुनःस्थापनाका काम जारी छन्। सुरक्षाकर्मीले प्रभावित क्षेत्रबाट उद्धारलाई निरन्तरता दिएका छन् भने विभिन्न सरकारी निकाय, राजनीतिक दल, सामाजिक संस्था तथा निजी क्षेत्रले समेत राहत सामग्री उपलब्ध गराउँदै आएका छन्। यसअघि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई दिनमै नुवाकोट र रसुवाबाट ९३७ जनाको उद्धार गरेको थियो।
यसैबीच, बाढीबाट विस्थापित नागरिकको व्यवस्थापनका लागि नुवाकोटको विदुर नगरपालिकाले तत्काल प्रतिपरिवार १० हजार रुपैयाँ घरभाडा सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको छ।
एमालेले भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उद्धार र पुनःस्थापनाका काममा पार्टीका विभिन्न तहका संरचनालाई परिचालन गर्दै आएको जनाएको छ। टोलीले प्रभावित क्षेत्रमा पुगेर स्थानीय आवश्यकता पहिचान गरी राहत तथा उद्धारकार्यलाई थप प्रभावकारी बनाउने बताइएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो