काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले अघि बढाइरहेको १५औँ महाधिवेशन प्रक्रियामा सहभागी नहुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
शुक्रबार संस्थापन इतर पक्षका नेताहरूसँग छलफल गरेपछि विज्ञप्ति जारी गर्दै डा. कोइरालाले कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै विवाद टुंगो नलागेसम्म एकतर्फी रूपमा महाधिवेशनका गतिविधि अघि बढाउन नहुने बताएका हुन्।
उनले सर्वोच्च अदालतले आधिकारिकतासम्बन्धी मुद्दा पुनः हेर्ने अनुमति दिएको स्मरण गराउँदै यस्तो अवस्थामा विशेष महाधिवेशनबाट गठित पक्षले १५औँ महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक गर्नु गम्भीर विषय भएको बताएका छन्।
डा. कोइरालाले विशेष महाधिवेशनका कारण कांग्रेसको केन्द्रीय कार्यसमिति समानान्तर रूपमा विभाजित भएको दाबी गर्दै अहिले एकतर्फी रूपमा अधिवेशन तथा महाधिवेशन अघि बढाउँदा आगामी निर्वाचनमा पार्टीलाई नकारात्मक असर पर्ने चेतावनी दिएका छन्।
उनका अनुसार विवादकै अवस्थामा अधिवेशन वा महाधिवेशन गरिए पार्टीका सबै तहका संरचनामा विभाजनको प्रक्रिया सुरु हुने र आगामी स्थानीय तथा प्रदेशसभा सदस्य निर्वाचनमा समेत कांग्रेसलाई थप नोक्सानी पुग्न सक्नेछ।
त्यसैले उनले पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई विभाजनकारी गतिविधिमा सहभागी नहुन आग्रह गरेका छन्।
डा. कोइरालाले विशेष महाधिवेशन पक्षले अघि बढाएका अधिवेशन तथा महाधिवेशनका गतिविधि आयोजना नगर्न–नगराउन तथा त्यस्ता गतिविधिमा सहभागी नहुन पार्टी पंक्तिमा हार्दिक अपिल गरेका छन्।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो