हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री थापाले शुक्रबार आफ्नै दल नेकपा एमाले, सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ६ जनालाई मन्त्री नियुक्त गरेका हुन्।
नेकपा एमालेबाट भरत केसीलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरिएको छ। केसी यसअघि नेपाली कांग्रेस नेतृत्वको संयुक्त सरकारमा वन तथा वातावरण मन्त्री थिए। मुख्यमन्त्री थापा मगरलाई मुख्यमन्त्री बनाउन एमाले संसदीय दलभित्र प्रभावकारी भूमिका खेलेका दोलखाका केसी पुनः मन्त्री बनेका हुन्।
एमालेकै ज्ञानबहादुर तामाङलाई भने बिना विभागीय मन्त्री नियुक्त गरिएको छ। नेकपासँग मन्त्रालयको भागबण्डा टुंगिन बाँकी रहेकाले उनको जिम्मेवारी पछि तोकिने मुख्यमन्त्री थापाले बताएका छन्।
त्यसैगरी, सत्ता साझेदार नेकपाबाट सरल सहयात्री पौडेललाई आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त गरिएको छ। भागबण्डामा नेकपाले दुई मन्त्रालय पाउने सहमति भएकाले अर्को एक मन्त्री भने पछि नियुक्त गरिने जनाइएको छ।
राप्रपाबाट राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री, गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक मन्त्री र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री नियुक्त गरिएको छ।
बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ वटा मन्त्रालय रहेका छन्। पछिल्लो मन्त्रिपरिषद् विस्तारपछि पनि कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी रहेको छ।
मन्त्रालयको भागबण्डा तथा सत्ता साझेदार दलसँगको छलफल टुंगिएपछि बाँकी मन्त्रालयमा पनि मन्त्री नियुक्त गरिने मुख्यमन्त्री थापा मगरको भनाइ छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो