काठमाडौं । श्रावण शुक्ल पञ्चमीका अवसरमा आज देशभर नागको पूजा–आराधना गरी नागपञ्चमी पर्व मनाइँदैछ। यस वर्ष नागपञ्चमी भदौ १ गते परेको हो।
नागपञ्चमीका दिन घरको मूलढोकामाथि विधिपूर्वक नागको चित्र टाँस्ने तथा नागदेवताको पूजा गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार नागको पूजा गरेमा नाग, सर्पलगायत जीवबाट हुने भय तथा प्राकृतिक विपत्तिबाट सुरक्षा प्राप्त हुने विश्वास गरिन्छ।
आज काठमाडौंको नागपोखरी, टौदह तथा भक्तपुरको सिद्धपोखरीसहित देशका विभिन्न नागदह, कुण्ड र नागस्थानमा विशेष पूजाआजा भइरहेको छ। श्रद्धालुले नागलाई दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका सामग्री चढाएर पूजा गर्ने गरेका छन्। नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ।
सनातन परम्परामा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको विशेष पूजा गर्ने चलन छ। नागपञ्चमीका दिन खेतबारीमा खनजोत नगर्ने तथा नाग, सर्पलगायत घस्रने जीवजन्तुलाई मार्न नहुने मान्यता पनि रहेको छ।
नागपूजाको परम्परालाई धार्मिक आस्थासँगै प्रकृति र जैविक विविधताको संरक्षणसँग पनि जोडेर हेर्ने गरिन्छ। सर्पले पारिस्थितिक प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले नागपञ्चमीले सर्प तथा अन्य जीवजन्तुप्रति संरक्षणको भावना विकास गर्ने सांस्कृतिक सन्देशसमेत दिने गर्दछ।
नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका प्रमुख चाडपर्वको क्रम सुरु हुने भएकाले यस पर्वलाई चाडपर्वको याम प्रारम्भ हुने दिनका रूपमा समेत लिइन्छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो