रमेश लुइँटेल,काठमाडौं, असार २७– नेपाल विद्यार्थी संघ (नेविसंघ) काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा आज बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै जिल्ला अध्यक्ष अंशुल केसीसहित सात जना विद्यार्थी नेताहरूलाई गिरफ्तार गरेको छ।
पक्राउ पर्नेमा सह–सचिव दोर्जे तामाङ, बानेश्वर क्याम्पस नेविसंघ अध्यक्ष प्रेम श्रेष्ठ, किर्तिपुर अध्यक्ष रोहित श्रेष्ठ, चन्द्रागिरि उपाध्यक्ष रोहन देशार, त्रिचन्द्रका नेता सतिश यादव, र सह–सचिव प्रस्ताव केसी रहेका छन्।
विद्यार्थी नेताहरूले हाल भैरहेको विद्यालय भर्ना प्रक्रियामा देखिएको दोहोरो भर्ना प्रणालीको अन्त्य, छात्रवृत्तिको पारदर्शिता र न्यायोचित वितरण, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति प्रणाली, र विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तुरुन्त जारी गरिनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए। साथै, विश्वविद्यालयहरूमा योग्यता आधारित नियुक्ति प्रणाली लागू गर्नुपर्ने उनीहरूको जोड थियो।
नेविसंघले आफ्ना नेता तथा कार्यकर्तामाथि भएको गिरफ्तारीको कडा विरोध गर्दै उनीहरूको तत्काल रिहाइको माग गरेको छ। संगठनले आन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउने चेतावनीसमेत दिएको छ।
प्रजातान्त्रिक मूल्यमान्यता र विद्यार्थी अधिकारको संरक्षणका लागि गरिएको यो आन्दोलनप्रति सबै तहका निकाय र नागरिक समाजको ऐक्यबद्धता अपेक्षित गरिएको छ।
