नेपाल र भारतका प्रधानमन्त्री बिच भेटवार्ता :कस्ले के भने ?

Jantedhunga

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता सार्थक र सकारात्मक भएको बताउनुभएको छ। 

बिहीबार बैंककमा भएको भेटवार्तापछि ट्वीट (एक्स)मा लेख्नुहुँदै ओलीले यस्तो बताउनुभएको हो। मोदीसँग आत्मीय र सौहार्दपूर्ण भेट भएको उहाँको भनाइ छ। ओलीले आत्मीय भेटवार्ताप्रति खुसी व्यक्त गर्नुभएको छ। 

प्रधानमन्त्री ओलीले एक्समा लेख्नुभएको छ, ‘‘मेरा प्रिय मित्र, प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो। हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो। यस आत्मीय भेटवार्ताप्रति म खुसी व्यक्त गर्दछु।’’ 

थाइल्यान्डको बैंककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग करिब ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो। 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरूबिच पूर्वनिर्धारित तालिकाअनुसार भेटवार्ता भएको हो।                     

भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिन्छ - भारतीय प्रधानमन्त्री  -मोदी

 भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको बताउनुभएको छ। बिमस्टेक शिखर सम्मेलनपछि बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि मोदीले यस्तो बताउनुभएको हो। भेटपछि मोदीले सामाजिक सञ्जाल ट्वीटर (एक्स)मा लेख्नुभएको छ, ‘‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको छ।’’ 

भेटमा मोदीले नेपाल र भारतको मित्रताका विभिन्न पक्षमा कुराकानी भएको प्रष्ट पार्नुभएको छ। मोदीले थप लेख्नुभएको छ, ‘‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्यौं।’’ 

मोदीले बिमस्टेक शिखर सम्मेलनबाट केही सकारात्मक परिणाम प्राप्त भएको उल्लेख गर्नुभएको छ। उहाँले थप लेख्नुभएको छ, ‘‘हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं।’’

Jantedhunga
प्रतिक्रिया