राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।
एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । गत बर्षको नतिजामा समग्र देशभरकै नतिजा सुधार भएको देखिन्छ। गत बर्षको ४७.८६ उतिर्ण प्रतिशत रहेकोमा यो बर्ष १३.९५ प्रतिशतले बढेर ६१.८१ प्रतिशत बिध्यार्थी उतिर्ण भएका छन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको गत बर्षको SEE परीक्षाको नतिजा देशभरको समग्र नतिजा भन्दा कमजोर नतिजा आएको थियो। गाउँपालिकाको १४ बिध्यालयमा ३ बिध्यालयको शून्य र समग्र नतिजा ३३.८९ प्रतिशत मात्र नतिजा आएको भन्दै स्थानीय सरकारसँग जोडेर सामाजिक संजालमा नकारात्मक टिकाटिप्पणी र आलोचना भएको थियो।
कमजोर नतिजा आएको भन्दै गाउँपालिकाले २०८१ श्रावण २८ गते गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र राईको अध्यक्षतामा प्र.अ. बैठक राखि बृहत छलफलपछि नतिजा कमजोर आउनुका ७ कारण तथा निष्कर्ष निकालेर आगामी बर्ष नतिजा सुधार गर्ने भन्दै नतिजा सुधार योजना बनाएको थियो। जसमा अतिरिक्त कक्षा संचालन गर्ने, प्र.अ. तथा शिक्षकहरुलाई १५ बुदेँ प्रतिबद्द्ता पत्रमा हस्ताक्षर गराउने, थप कडाईका साथ अनुगमन गर्ने, विषयगत शिक्षक दरबन्दी मिलान गर्नेलगायतका योजनाहरु समाबेश गरिएको थियो।
फलतः गाउँपालिकाले यो बर्षको नतिजामा झन्डै दोब्बर सुधार गरेको छ। गत बर्षको नतिजामा २९.५३ प्रतिशत सुधार गरि ६३.४२ प्रतिशत नतिजा ल्याउन सफल भएको छ। यो देशभरको समग्र नतिजाभन्दा १.६१ प्रतिशत बढी हो। १४ माध्यमिक बिध्यालयका २५७ परीक्षामा सहभागी बिध्यार्थी मध्ये १६३ बिध्यार्थी उतिर्ण भएका छन् । जसमा शान्ती मा.बि. बरडाँडाले परीक्षा सहभागी सतप्रतिशत बिध्यार्थी उतिर्ण गरेको छ भने कृष्ण मा.बि. टेम्मा ८३.३३%, सरस्वती मा.बि. डाँडाखर्क ७८.९४%, धिप्लुङ मा.बि. सेम्मा ६८.७५%, महेन्द्रोदय मा.बि.ओख्रे ६७.५६%, जनसेवा मा.बि. ८५.७१, राम्छे निकेतन मा.बि. इजारा ९४.११%, पँचकौशिका मा.बि. भण्डारेघाट ६६.६६%, सरस्वती मा.बि. कुलागाउँ ६६.६६%, महेन्द्रोदय मा.बि. याम्खा ६०%, शान्ती निकेतन मिनाकर्ण मा.बि. ३३.३३%, जनता मा.बि. बतासे २७.२७%, शान्ती मा.बि. छोरम्बु २५%, बिध्यार्थी उतिर्ण भएका छन् । याङ्सोला मा.बि. याङ्सोलाको भने सहभागी ६ जना नै अनुत्तीर्ण भएको बिध्यालय निरीक्षक रणशेर तामाङले जानकारी दिनु भयो।
गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले यो बर्षको SEE को नतिजा उत्साहजनक आएता पनि गाउँपालिकाले शैक्षिक सुधारलाई अभियान नै चलाएर शिक्षामा गरेको लगानी, प्रयास र मेहनत अनुसारको नतिजा अझै आउने बेला भई नसकेको र थप अपेक्षाकृत नतिजा आउन अझै केही समय लाग्ने बताउनु भयो। नतिजा बिस्तारै सुधार हुँदै जानू अझ दिगो र दीर्घकालीन सुधार हो। एक बर्षको नतिजामै हौसिन नहुने र नतिजा सुधारमा निरन्तरता दिनु पर्ने बताउँदै आगामी बर्षमा शैक्षिक सुधारका थप कार्यक्रम संचालन गर्दै जाने समेत बताउनु भयो।
