खोटाङ । आज रामनवमी पर्वको दिन खोटाङ जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा पूजाआजा गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको छ । रामनवमीको अवसरमा लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको आज बिहानैदेखि बाक्लो भीड लागेको हो ।
हिन्दू, बौद्ध र किरातधर्मावलम्बीको त्रिधार्मिक सङ्गमस्थल मानिने हलेसीमा नेपालका विभिन्न जिल्लाहरूका साथै छिमेकी भारत भुटानलगायत देशबाट समेत हजारौँ दर्शनार्थीको आउने गरेका छन् ।
धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, धर्मद्वार, पापद्वार, बसाहागुफा, भैरवगुफालगायत धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकका साथै पूजाआजा गर्न भक्तजन आउने गरेका छन् ।
यसैबीच, रामनवमीको अवसरमा जिल्लाको पर्यटकीयस्थल बराहापोखरी, ट्याम्के, दिक्तेलको मझुवागढीस्थित कालिका मन्दिरलगायतमा समेत दर्शनार्थी हरुको भिड लाग्ने गर्दछ ।
