कोशी प्रदेशको सभामुख पद चयनमा सकस, राप्रपा संसदीय दलका नेता सिटौला भन्छन– सभामुखका लागि औपचारिक प्रस्ताव आएको छैन

Jantedhunga

जन्तेढुंगा संवादाता

विराटनगर । कोशी प्रदेशमा उद्धव थापा दोस्रो पटक मुख्यमन्त्रीमा निर्वाचित भएपछि सभामुख पद बिक्रीमा राखिएको आरोप लाग्न थालेको छ । 

साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्नेछ । बहुमतका लागि आवश्यक संख्या ठिक्क मात्रै भएका कारण सत्ता गठबन्धनले फेरि सभामुख पद लिन चाहेको छैन । उसले सभामुख लिएको अवस्थामा बहुमतका लागि चाहिने संख्या भन्दा एक सिट कम हुनपुग्छ ।

त्यस्तै प्रतिपक्षी दल नेकपा एमाले र राप्रपा पनि सभामुख लिन तयार छैनन् । उनीहरुलाई थाहा छ अहिले सभामुख लिनु भनेको सत्ता गठबन्धनलाई बहुमत सुरक्षित गर्न सघाउ पुर्‍याउनु हो ।

अर्कोतर्फ सभामुख नलिएको अवस्थामा मुख्यमन्त्री थापाले विश्वासको मत पाउन नसकेर संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले एमाले नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना छ । यसरी सत्तापक्ष र प्रतिपक्ष दुबैले लिन नचाहेका कारण सभामुख पद फालाफाल भएको हो ।

राप्रपा प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौला सत्तारुढ गठबन्धनबाट सभामुख लिनका लागि औपचारिक प्रस्ताव नआएको गुनासो गरे । राप्रपालाई सभामुख दिने बारेमा बाहिरी हल्ला मात्रै सुनेको उनले उनको प्रतिक्रिया छ ।

‘उहाँहरुले लिइदिनुहोस् भनेर प्रस्ताव गरेको अवस्था छैन, त्यसमा उहाँहरुको रणनीतिक कुरा छन्’, उनले भने, ‘आज सभामुखको गरिमालाई उहाँहरुले किस्तीमा हालेर बजारमा बिक्रीमा राख्नुभएको छ ।’ सत्ता लिप्साका लागि सत्तारुढ गठबन्धनले सभामुखको गरिमा घटाएको उनले बताए ।

‘जसलाई सबैले सम्मान गर्छन् त्यो (सभामुख पदको_ गरिमालाई, महत्वलाई घटाउनु भएको छ’, उनले भने, ‘अहिले बजारु बिक्रीको माल जस्तो भएको छ सभामुख पद ।’ सत्ता गठबन्धनले सभामुख पद लिनका लागि प्रस्ताव गरे छलफल गरेर निष्कर्षमा पुग्ने उनले बताए ।

‘पहिला उहाँहरुको प्रस्ताव आओस्, उहाँहरुको नियत त हामीले बुझेकै छौं,’ राप्रपा नेता सिटौलाले भने, ‘उहाँहरुले प्रस्ताव गर्नुभयो भने हामी मुल्याङ्कन गर्छौं ।’

Jantedhunga
प्रतिक्रिया