जन्तेढुंगाको लक्ष्मी माविमा संचालित आवासीय विद्यालयको स्थानीय जन प्रतिनिधि द्वारा अनुगमन

Jantedhunga

जन्तेढुंगा भदौ १८ । जन्तेढुंगा गाउँपालिका वडा नम्बर ३, लक्ष्मी मावि काहुलेमा संचालित आवासीय विद्यालयको गाउँपालिका अध्यक्ष अरुणा देवी राई, जिल्ला समन्वय समिति खोटाङका सदस्य मोहन सुप्तिहाङ, वडा अध्यक्ष तारामान राई, शिक्षा शाखा प्रमुख चक्र कार्की र स्वास्थ शाखाका अहेव देवराज बस्नेत लगायतका टोलि द्वारा भदौ १७ गते सोमबार अनुगमन गरिएको छ ।

जन्तेढुंगा गाउँपालिकाको आवासीय विद्यालय संचालन ऐन २०८१ अनुसार उक्त कार्यक्रम संचालनमा आएको हो । जन्तेढुंगा गाउँपालिका भित्रका अभिभावक बिहिन, असहाय तथा अति विपन्न वर्गका बालबालिकालाई उक्त आवासीय विद्यालयमा भर्ना गरि पठनपाठन सुचारु गरिएको विद्यालयले जनाएको छ ।

अनुगमन टोलि संगको अन्तरक्रियाको क्रममा विद्यार्थीहरु पारिवारिक मैत्री वातावरणका साथै खुसी रहेको पाइएको जिल्ला समन्वय समिति खोटाङका सदस्य मोहन सुप्तिहाङले प्रतिक्रिया दिएका छन् ।

यसै शैक्षिकसत्रदेखि संचालनमा आएको यस आवासीय कार्यक्रममा हाल सोह्रजना छात्र र चारजना छात्राहरुले विद्यालयमै रहेर अध्ययन गरिरहेको र एक विद्यार्थी बराबर खान बस्नका साथै पठनपाठनका निम्ति मासिक चार हजारको दरले सुविधा पाउने शिक्षक सन्तोष राईले बताएका छन् ।

अनुगमनका क्रममा विद्यालयका तर्फबाट प्रधानाध्यापक कृष्ण राई द्वारा छात्रावास संचालन पछि विद्यार्थीहरु जथाभावी छात्रावास छाडेर जान सक्ने भन्दै उनीहरुको सुरक्षाका निम्ति घेराबाराका साथै स्नान गृह र आवासका निम्ति सुविधा सम्पन्न नयाँ भवन अनिवार्य आवश्यक भएको बताउँदै  अनुगमन टोलिको ध्यानाकर्षण गराइएको थियो ।

यस विषयमा गाउँपालिका अध्यक्ष अरुणा देवी राई द्वारा आफ्नो तर्फबाट सकेको सहयोग हुने प्रतिबद्धता व्यक्त भएको जानकारी प्राप्त भएको छ ।

गाउँपालिकाले यसरी शैक्षिक क्षेत्रमा नौलो कामको शुरुआत गरेर अलपत्र परेका र विपन्न वर्गका विद्यार्थीहरुलाई यो सुविधा प्रदान गरेकोमा स्थानीयबासीले खुसी व्यक्त गरेका छन् ।

उक्त छात्रावास संचालनका निम्ति जन्तेढुंगा-५ निवासी प्रमिला तामाङलाई परिचालकमा नियुक्त गरिएको छ ।

Jantedhunga
प्रतिक्रिया