काठमाडौं । आगामी चाडपर्वलाई लक्षित गर्दै सरकारले सार्वजनिक यातायातलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन सातवटा निर्णय गरेको छ।
यातायात व्यवस्था विभागको समन्वयमा सरकार र यातायात क्षेत्रका सरोकारवालाबीच भएको बैठकले असोज २३ गतेदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।
त्यस्तै, असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते पूर्णिमासम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। खाद्यान्न, औषधि, फलफूललगायत अत्यावश्यक सामग्री बोकेका सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ।
चाडपर्वमा यात्रुको मागअनुसार सार्वजनिक सवारीसाधन सञ्चालन गर्न सहज होस् भनेर घटस्थापनादेखि कात्तिक १० गतेसम्म देशभर रुट परमिट खुला गर्ने निर्णय पनि गरिएको छ।
यात्रुको सहजीकरणका लागि काठमाडौं उपत्यकाका प्रमुख नाकामा यातायात व्यवस्था विभागले फोकल पर्सनसहितको टोली परिचालन गर्नेछ। यातायात व्यवसायीका तर्फबाट पनि सम्पर्क व्यक्ति खटाइनेछ।
नयाँ बसपार्क क्षेत्रमा चाडपर्वका बेला मोबाइल नेटवर्कमा बढ्ने चापलाई मध्यनजर गर्दै नेपाल टेलिकमलगायत दूरसञ्चार सेवा प्रदायकलाई नेटवर्क क्षमता वृद्धि तथा विस्तार गर्न पत्राचार गर्ने निर्णय भएको छ।
रिजर्भमा सञ्चालन हुने सवारीसाधन र यात्रुको विवरण व्यवस्थित गर्न विभागले नमुना फाराम तयार गरी व्यवसायीलाई उपलब्ध गराउने भएको छ। व्यवसायीले फाराममा आवश्यक विवरण प्रविष्ट गरेपछि मात्र रिजर्भ सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
बैठकले सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्था तथा फिटनेस परीक्षणलाई समेत प्राथमिकता दिएको छ। फिटनेस परीक्षणका लागि नाडा र सिप्रदीलाई अनुरोध गर्ने तथा यातायात व्यवस्था विभागको टेकुस्थित सवारी परीक्षण कार्यालयबाट प्राविधिक कर्मचारी परिचालन गर्ने निर्णय भएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो