काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारी शासनतर्फ उन्मुख भएको आरोप लगाएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले सरकारले राजनीतिक दल, संसद् र नागरिकसँग संवाद नगरेको दाबी गरे। उनले सरकार चुनौतीको सामना गर्ने स्पष्ट संकल्पसहित अघि बढ्न नसकेको आरोपसमेत लगाए।
पोखरेलले सरकारका गतिविधिले लोकतन्त्रको भविष्यप्रति समेत चिन्ता उत्पन्न भएको बताए। जनताबाट निर्वाचित प्रधानमन्त्रीले आफूले नै चुनेको संसद्को कुरा नसुन्ने र जनताका आवाजलाई बेवास्ता गर्ने अवस्था देखिएको उनको भनाइ थियो।
उनले भने, “स्वेच्छाचारी शासनतर्फ हामी हिँड्दै छौँ, अधिनायकवादतर्फ हामी हिँड्दै छौँ भन्ने प्रश्न उपस्थित भइरहेका छन्।”
लोकतन्त्रका लागि संघर्ष गरेको नेपाली कांग्रेसले लोकतन्त्रको रक्षाका लागि अब कसरी अघि बढ्छ भन्ने प्रश्न महत्वपूर्ण बनेको पोखरेलले बताए।
राष्ट्रियता र सार्वभौमसत्ताको सवालमा नेपालका वामपन्थी तथा लोकतन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा पनि उनले जोड दिए। भूराजनीतिक द्वन्द्वका कारण नेपालको भविष्यबारे प्रश्न उठिरहेको भन्दै देशको अस्मिता र सार्वभौमसत्ताको रक्षाका लागि राजनीतिक दलहरू राष्ट्रियताका मुद्दामा एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो।
पोखरेलले बदलिएको समयअनुसार अघि बढ्न नेपाली कांग्रेसको नयाँ नेतृत्वलाई शुभकामनासमेत दिए।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो