देउवा दम्पती क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत

Jantedhunga

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा देउवा १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।

देउवा आफ्नै गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा भएको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्। देउवाले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका थिए। 

त्यस्तै, आरजु राणा देउवा कैलाली क्षेत्र नम्बर ५ अन्तर्गत धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीबाट महिला खुलातर्फ क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएकी छन्। उनले रमेशकुमार चन्दको वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएकी थिइन्।

देउवा समूहले असोज १५ गतेदेखि १५औँ महाधिवेशनका लागि समानान्तर रूपमा वडा अधिवेशन सुरु गरेको हो। यस समूहले असोज २० गते गाउँ तथा नगरपालिका, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। 

यसअघि नेपाली कांग्रेसको विधानमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था थियो। संशोधित व्यवस्थाअनुसार केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले समेत वडा तहबाट प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने प्रावधान राखिएको छ। त्यसैअनुसार देउवा र राणा दुवै वडा तहबाट क्षेत्रीय प्रतिनिधि चयन भएका हुन्।

नेपाली कांग्रेसको आधिकारिक पक्षले भने १५औँ महाधिवेशन असोज १८ गतेदेखि काठमाडौंमा गर्ने कार्यतालिका अघि बढाइरहेको छ। यससँगै पार्टीभित्र महाधिवेशनका दुई अलग प्रक्रियाहरू अघि बढिरहेका छन्।

Jantedhunga
प्रतिक्रिया