त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य

Jantedhunga

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणालीअन्तर्गत सञ्चालन हुने परीक्षाका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा जडान गर्न अनिवार्य गरेको छ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको २०८३ साल भदौ ३ गते बसेको बैठकको निर्णयअनुसार परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य स्पष्ट देखिने गरी सीसी क्यामरा जडान गर्नुपर्ने व्यवस्था गरिएको हो।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार जडान गरिएका सीसी क्यामरामा कम्तीमा डेढ महिनासम्मको दृश्य रेकर्ड सुरक्षित राख्नुपर्नेछ। साथै, उक्त रेकर्डको अनुगमनका लागि परीक्षा नियन्त्रण कार्यालयलाई आवश्यक पहुँचसमेत उपलब्ध गराउनुपर्नेछ।

कार्यालयले आगामी दिनमा परीक्षा सञ्चालन गर्दा सबै परीक्षा केन्द्रले उक्त व्यवस्था अनिवार्य रूपमा पालना गर्नुपर्ने जनाएको छ।

तोकिएबमोजिम सीसी क्यामरा जडान नगर्ने वा क्यामराको रेकर्ड अनुगमनका लागि पहुँच उपलब्ध नगराउने परीक्षा केन्द्र परिवर्तनसमेत गर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले चेतावनी दिएको छ।

Jantedhunga
प्रतिक्रिया