काठमाडौं । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा सुन्दरहरैचामा बुधबार झडप र तोडफोड भएको छ। क्रियाशील सदस्यता विवादका कारण अधिवेशनस्थलमा तनाव बढ्दै गएपछि दुई पक्षबीच कुटपिट भएको हो।
झडपमा क्षेत्रका कार्यवाहक सभापति चुमनारायण तबदार र कांग्रेस नेता चेतराज रेग्मीलगायत घाइते भएका छन्। उनीहरूको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ। घटनाका क्रममा कांग्रेस सहमहामन्त्री डा. डीला संग्रौलामाथि समेत हातपात भएको प्रहरीले जनाएको छ।
अधिवेशनको औपचारिक उद्घाटन तथा मनोनयन प्रक्रिया सुरु हुनुअघि नै विवाद बढेपछि स्थिति तनावपूर्ण बनेको थियो। लामो समयदेखि कायम रहेको क्रियाशील सदस्यता विवादकै कारण यसअघि वडा अधिवेशनसमेत प्रभावित भएको थियो।
घटनालाई लिएर कांग्रेसभित्र संस्थापन पक्ष र डा. शेखर कोइराला निकट समूहबीच आरोप–प्रत्यारोपसमेत सुरु भएको छ। संस्थापन पक्षले कोइरालाको निर्वाचन क्षेत्रमा भएको घटनामा उनी निकट कार्यकर्ताको संलग्नता रहेको आरोप लगाएको छ।
तर कोइराला समूहका नेता तथा पूर्व क्षेत्रीय सभापति देवराज तामाङले आरोप अस्वीकार गरेका छन्। उनले वडा तहमा अनलाइन फाराम भर्ने क्रममा देखिएको त्रुटि र त्यसबाट उत्पन्न असन्तुष्टिका कारण वडा प्रतिनिधिहरूबीच विवाद भएको दाबी गरेका छन्।
झडपपछि रोकिएको अधिवेशनलाई पुनः सञ्चालन गर्ने तथा तनावपूर्ण अवस्थालाई सामान्य बनाउन नेताहरूले संवाद र सहमतिको प्रयास थालेका छन्। नेता रमेशजंग रायमाझीले विवाद समाधानका लागि सहमतिको पहल भइरहेको बताएका छन्।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो