दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा जीवन निर्वाह भत्ताका लागि ६१८ घरधुरीको सूची प्रकाशन।

Jantedhunga
 खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट तथा कार्यक्रमअनुसार गाउँपालिका क्षेत्रभित्रका अति विपन्न, नियमित आयस्रोत र रोजगारी नभएका परिवारहरूका लागि "अति विपन्न नागरिक सामाजिक सुरक्षा (जीवन निर्वाह भत्ता) वितरण कार्यविधि, २०८३" बमोजिम लाभग्राहीहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।   

वडा कार्यालयमार्फत प्राप्त आवेदनहरूमाथि छानबिन समितिबाट प्रारम्भिक छानबिन सम्पन्न गरी गाउँपालिकाभर जम्मा ६१८ घरधुरीलाई लाभग्राहीको प्रारम्भिक सूचीमा समेटिएको छ। गाउँपालिकाका अनुसार वडागत रूपमा वडा नं. १ (यामखा) मा ६९, वडा नं. २ (डाँडागाउँ) मा ९८, वडा नं. ३ (छोरम्बु) मा ७२, वडा नं. ४ (बतासे) मा १०१, वडा नं. ५ (स.छितापोखरी) मा १२६, वडा नं. ६ (छितापोखरी) मा ६० र वडा नं. ७ (टेम्मा) मा ९२ वटा घरधुरीका आवेदकहरू प्रारम्भिक सूचीमा छनोट भएका छन्।   

प्रकाशित सूचीमा चित्त नबुझेमा वा अयोग्य व्यक्ति समावेश भएको पाइएमा सूचना प्रकाश भएको ७ (सात) दिनभित्र गाउँ कार्यपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित प्रमाणसहित दाबी विरोध दर्ता गराउन सकिनेछ। निर्धारित म्यादभित्र दाबी विरोध नपरेमा वा छानबिनपश्चात् अन्तिम सूची प्रकाशन गरी भत्ता वितरण प्रक्रिया अगाडि बढाइनेछ। साथै, प्रारम्भिक सूचीमा नाम समावेश भएका लाभग्राहीहरूलाई मिति २०८३ असोज २१ गतेभित्र सानिमा बैंकमा खाता खोली वडा कार्यालयमार्फत खाता नं. उपलब्ध गराउन गाउँपालिकाले विशेष अनुरोध गरेको छ।   

Jantedhunga
प्रतिक्रिया