‘अब अराजकता चल्दैन, कडा कारबाही हुन्छ’ : ओली

Jantedhunga

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब अराजकता र अनुशासनहीनता स्वीकार्य नहुने बताएका छन्। मंगलबार कोशी, मधेस, वाग्मती, उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकलाई ‘कट–अफ डेट’ का रूपमा लिइएको बताए। 

ओलीले पार्टीले तय गरेका दुई मुख्य कार्यभार र १५ काम कार्यान्वयन गर्न नेता–कार्यकर्तालाई अनुशासन र निष्ठाका साथ अघि बढ्न निर्देशन दिए। पार्टीको नीति तथा अनुशासनविपरीत गतिविधि गर्ने, अराजकता फैलाउने वा विपक्षीलाई फाइदा पुग्ने गरी अभिव्यक्ति दिने जोसुकैलाई अब कडा कारबाही गरिने उनको भनाइ थियो।

उनले ‘लोकतन्त्रको पुनर्वहाली’ र ‘आगामी स्थानीय निर्वाचनको तयारी’ लाई पार्टीका मुख्य गन्तव्यका रूपमा अघि सारे। निर्वाचनमा केन्द्रित भएर संगठनलाई पुनर्गठन गर्ने बताउँदै ओलीले जनसंगठनहरूलाई समेत पुनः सक्रिय बनाउने धारणा राखे।

पार्टीको पुनर्गठनका नाममा अध्यक्ष हटाउने विषय उठाइएकोप्रति आपत्ति जनाउँदै ओलीले त्यसलाई ‘अपराधपूर्ण क्रियाकलाप’ को संज्ञा दिए। केन्द्रीय कमिटी बैठकअघि भएका गतिविधिलाई आफूहरूले क्षमा दिएको उल्लेख गर्दै उनले अब भने त्यस्तो छुट नदिइने बताए।

‘अब क्षमा हुँदैन’ भन्दै ओलीले पार्टीभित्र कोराकोर र हानाहान गर्ने समय नभएको बताए। उनका अनुसार एमाले अहिले निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने अवस्थामा छ।

ओलीले देशलाई पछाडि फर्काउने, संवैधानिक प्रक्रिया मिच्ने तथा विध्वंस र आतंकको अवस्था सिर्जना गर्ने प्रयास भइरहेको दाबी गर्दै त्यसलाई रोक्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।

एमालेले देशलाई लोकतान्त्रिक विधि र संवैधानिक प्रक्रियामा फर्काउन तथा संविधानको रक्षा गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने ओलीको भनाइ थियो। पार्टीको आधिकारिक वेबसाइटमा पनि हालको कार्यदिशालाई पार्टी पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनतासँग जोडेर प्रस्तुत गरिएको छ। 


Jantedhunga
प्रतिक्रिया