काठमाडौं, असोज ११ गते। केही दिनदेखि जारी अविरल वर्षाका कारण बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग, राष्ट्रिय लोकमार्ग तथा भित्री सडकखण्डको यातायात प्रभावित भएको छ। नेपाल प्रहरी र स्थानीय प्रशासनका अनुसार विभिन्न स्थानमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
धादिङको कृष्णभीर र गजुरी तथा तनहुँको घाँसीकुवा, मौरीभीर, सेराटार र चुनपहरामा पहिरो जाँदा राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ। त्यस्तै, बीपी राजमार्गअन्तर्गत काभ्रेको चारसयवेशी र गिम्दीवेशीमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको छ।
काभ्रे र सिन्धुली क्षेत्रमा जोखिमलाई मध्यनजर गर्दै बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
यसैगरी, अरनिको राजमार्गको धुलिखेल तथा कान्ति लोकपथअन्तर्गत ललितपुरको टाकुर्चे र पाङदुरडोलमा पहिरोका कारण यातायात अवरुद्ध भएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा समेत विभिन्न स्थानमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द गरिएको छ।
रसुवाको खाल्टेमा त्रिशूली नदीको कटानका कारण पासाङ ल्हामु राजमार्गसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ।
गण्डकी प्रदेशमा सिद्धार्थ राजमार्गको पुतलीबजार, मध्यपहाडी लोकमार्गको बागलुङ तथा पर्वत खण्ड र बेँसीसहर–मनाङ सडकखण्डमा पहिरोका कारण यातायात ठप्प भएको छ।
कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न सडकखण्डमा समेत बाढी, पहिरो र लेदोका कारण आवागमन प्रभावित भएको छ। कालिकोटको गगने खोला, हुम्लाको खच्चा तथा दार्चुलाको ऐरिछिना क्षेत्रमा सडक अवरुद्ध भएको जनाइएको छ।
सडक विभाग तथा स्थानीय प्रशासनले जोखिमयुक्त सडकखण्डमा सवारी दुर्घटना तथा थप क्षति रोक्न रात्रिकालीन सवारी सञ्चालनमा रोक तथा समयसीमा लागू गरेका छन्। त्रिभुवन राजपथमा निश्चित समय तालिका लागू गरिएको छ भने १५ टनभन्दा बढी भार भएका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
त्यस्तै, टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ। कोशी प्रदेशका विभिन्न भित्री सडकमा पनि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ।
प्रशासनले वर्षा जारी रहेकाले पहिरो तथा बाढीको जोखिम भएका सडकमा अनावश्यक यात्रा नगर्न र सम्बन्धित निकायले जारी गरेका सूचनाअनुसार मात्र यात्रा गर्न आग्रह गरेको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो